काठमाडौँ : अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ।
२०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजनाको सहयोग रोकिएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।
यसरी सहयोग रोकिएका परियोजनाहरूमा युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड हेल्थ एजुकेसन फाइनान्सिङ प्रोजेक्ट र युएसएड इन्क्लुजन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।
यूएसएले ती अनुदान सहयोग ९० दिनका लागि स्थगित गरेको पत्र पठाएको जानकारी प्रवक्ता भट्टराईले दिए । यो पत्रसँगै यो अवधिसम्म यूएसएड श्रोततर्फ कुनै दायित्व सृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको समेत मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij