Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आकाशमा कवाज खेलिरहेका यी ग्रहहरू !

आकाशमा कवाज खेलिरहेका यी ग्रहहरू !

काठमाडौँ : सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्क्तिबद्ध भए जस्तै अहिले सौर्य मण्डलका महत्त्वपूर्ण ग्रहहरू पङ्क्तिबद्ध भएर आकाशमा चलमलाइरहेका छन् । उत्तरी गोलार्द्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा आकाशमा शनि, शुक्र वृहस्पति र मङ्गल ग्रहहरू लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ । चार वटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा २ वटा मधुरा ग्रहहरू अरुण र वरुण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने समितिको भनाइ छ ।

यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुको साथै यो अर्धचन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशा देखि उत्तर पूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने समितिले जनाएको छ । यी ग्रहहरू पङ्क्तिबद्ध रहेता पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहनेछ ।

काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिने कार्यकारी निर्देशक सनत कुमार शर्माले रातोपाटीलाई बताए । उनका अनुसार सोमबार साँझ ६ बजेदेखि ८ बजे सम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई थप प्रस्टसँग सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij