Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कालिका नगरपालिकाले गर्‍यो सासू- बुहारी अन्तरक्रिया कार्यक्रम

कालिका नगरपालिकाले गर्‍यो सासू- बुहारी अन्तरक्रिया कार्यक्रम

रत्ननगर : चितवनकाे कालिका नगरपालिकाले सासू बुहारी अन्तरक्रिया कार्यक्रम गरेको छ । कालिका वडा नं. ८ मा आइतवार र साेमवार सञ्चालन पश्चचात सम्पन्न भएकाे दुईदिने सो अन्तरक्रिया कार्यक्रम सासू बुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ गरिएको हो ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले गरेको उक्त कार्यक्रममा ४० जना सासू र ३० जना बुहारी गरि ७० जना सहभागी भएका थिए ।

समाजमा सासू बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सासू बुहारीबीचको सम्बन्ध सधै सुमधुर बनाउने र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सासू बुहारीलाई सँगै राखेर सासूको भावना बुहारीको भावना, सासू र बुहारीले गर्नुपर्ने कर्तव्य के हो भनेर हामीले उहाँहरुको बीचमा समन्वय गरेका हौँ ।’

सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको ढकालकाे भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर उपप्रमुख बिमला तामाङले सासूकाे लागि बुहारी छाेरी सरह र बुहारीकाे लागि सासू आमा सरह रहेकाले सासू र बुहारी मिलेमा घर सुन्दर र सुखि हुने बताउनुभयाे ।

उहाले भन्नुभयाे, “सासू र बुहारी  भनेकाे नङ र मासुकाे जस्तै सम्बन्ध  हाे, दुबै जना मिलेर बसेमा परिवारमा कलह कहिल्यै हुँदैन । एक अर्काकाे सम्मान गराै, सभ्य समाज निर्माणमा जुटाै । “

घरमा द्वन्द गर्ने ससुरा बुहारी नभईकन सासू र बुहारी भएकाे उहाकाे भनाईछ । महिला- महिलामा द्वन्द भएका कारण घर परिवारमा कलह भई कतिपयकाे परिवार फुटकाे संघारमा पुग्ने गरेकाे बताउनुभयाे । बाहिरी रूपमा समाजमा सासू र बुहारी मिलेर बसेकाे देखिएता पनि उहाँहरूकाे परिपारमा सधै कलह भईरहेकाे हुनाले याे सासू- बुहारी अन्तर्क्रिया कार्यक्रम वडामा लिएर आएकाे उपप्रमुख तामाङले बताउनुभयाे ।

यसभन्दा अगाडि यही कार्यक्रम कालिका वडा नं. ६ मा पुसकाे १६ र १७ गते दुईदिन सञ्चालन गरिसकेकाे उनकाे भनाईछ ।

कालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगरकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वडा सदस्य रामचन्द्र अधिकारी, फुलमाया गुरूङ, सुनिता परियार, गीता मगर, कार्यपालिका सदस्य शान्ति महताे लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट