Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नयाँ कार्यक्रम नहुँदा सौराहा सुनसान

नयाँ कार्यक्रम नहुँदा सौराहा सुनसान

चितवन : अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपर्थ्यो । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।

यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउँछन् । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।

घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरे भन्छन्, “सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।”

केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ ।

होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्छन् । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए। विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटकसम्म पर्यटकलाई जङ्गल घुमाउने गरेको स्मरण गर्दै उनले यस वर्ष मुस्किलले तीन खेप गरेको बताए। उनले भने, “विगतमा पाँच पटक हात्तीले पर्यटकलाई घुमाउँदा पनि पालो नपाएर धेरै फर्किने गर्दथे ।” उनको भनाइमा यस वर्ष २५ प्रतिशतभन्दा कम पर्यटक सौराहा घुम्न आएको अनुमान गर्न सकिन्छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया सडक सञ्जाल, आर्थिकमन्दी, बालबालिकाको परीक्षालगायतका कारण पर्यटकको कमी भएको बताउँछन् । उनले भने, “बाटो कुनै निर्माणाधीन, कुनै बन्द छन्, जहाजको भर छैन, कहाँबाट पर्यटक आउनु ?” आम नागरिक आर्थिकमन्दीको चपेटामा रहेकाले पनि घुम्न आउने घटेको उनको भनाइ छ ।

सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउँछन् । उनले भने, “पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाँग्नुपर्थ्यो, यो वर्ष यस्तो भएन ।”

आएकामध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट