Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन साहित्य परिषदबाट समालोचक रमेश प्रभात पुरस्कृत

चितवन साहित्य परिषदबाट समालोचक रमेश प्रभात पुरस्कृत

चितवन : १४१ औँ लेखनाथ जयन्तीका अवसरमा चितवन साहित्य परिषदका समालोचक रमेश प्रभात पुरस्कृत भएका छन् । चितवन साहित्य परिषद्ले समालोचक रमेश प्रभातको समालोचना कृति ‘अलिकति फरक कुरा’लाई चिसाप कृष्ण–कृष्णा साहित्य पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो।

भरतपुर महानगरपालिका वडा नम्बर–१५ मङ्गलपुर निवासी साहित्यकार रमेश प्रभातले २०४० को दशकदेखि हाइकू, गजल, मुक्तक, कविता तथा समालोचना विधामा कलम चलाउँदै आएका छन् । उनको साहित्यिक योगदानको कदर गर्दै चिसापका अध्यक्ष केदारनाथ खनालले यो पुरस्कार दिइएको बताए । चितवनको रत्ननगर नगरपालिका बकुलहर स्थायी घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख रुपैयाँको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गरेका थिए भने हाल यस अक्षयकोषमा साढे दुइ लाख रुपैयाँ रहेको छ ।

२०७१ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष कवि लकाश पौडेलको महाकाव्य ‘शौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘सिडिओका सत्र वर्ष’, २०७३ सालमा सुमन घिमिरेको ‘मौनता’ उपन्यास र डा मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह ‘पुस्तकालयको भोक’लाई संयुक्त रूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिंह थापाको कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह ‘बतासा’लाई संयुक्त रूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेको ‘मिझोर’ कवितासङ्ग्रहले प्राप्त गरेको थियो ।

त्यसैगरी २०७६ सालमा गणेश श्रमणको ‘गुलियो काठमाडौँ’ र लक्ष्मण अर्यालको ‘औंला’ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको ‘अनुक्रोस’ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुको ‘अनुहारमा आप्पा’ र कृष्णशरण उपाध्याय ‘अनेक प्रश्न’ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीको ‘टुवरा’ उपन्यासले यो पुरस्कार प्राप्त गरेको थियो ।

चिसापको हलमा आयोजित उक्त कार्यक्रममा चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगरप्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गरेका थिए । उक्त पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले लिखित टिप्पणी राखेका थिए । टिप्पणी राख्ने क्रममा उनले रमेश प्रभात खरो खालको समालोचक भए पनि ‘अलिकति फरक कुरा’ मा केही नरम भएर प्रस्तुत भएको धारणा राखे । त्यति मात्र नभएर कविडाँडा वरपरका समकालीन साथीका कृतिहरू समालोचकका नजरमा किन परेनन् ? भनेर प्रश्न पनि उठाए ।

उक्त कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्राडा नारायणप्रसाद खनालले चर्चा गरेका थिए । त्यस्तै देवघाटका चेलीहरूले लेखनाथका कविता वाचन गरेका थिए भने विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, राजेन्द्र घायल लगायतका कविहरूले पनि कविता वाचन गरेका थिए । त्यस्तै कविडाँडा साहित्य समाजका अध्यक्षा एलबी क्षेत्री र कवि तथा समालोचक सरस्वती रिजालले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण शान्ति शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट