चितवन : भरतपुर महानगरवासी यहाँको तीव्र परिवर्तनलाई देख्दा दङ्ग छन्। यसको प्रमुख कारण हो पछिल्ला सात वर्षमा भएका उल्लेखनीय विकास। भरतपुरले आफूलाई विकासको सकारात्मक मानकको रूपमा प्रस्तुत गर्न थालेको छ। म भरतपुरकै स्थानीय भएकाले भन्न सक्छु कि महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा भएका उपलब्धिहरूले यो सहरलाई आधुनिक, स्मार्ट र समृद्ध सहरको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
मेयर दाहालको नेतृत्वमा ७ वर्षमा स्थानीय सरकारले के कति काम गरेको छ ? त्यसको लेखाजोखा एक आम नागरिकको रूपमा केलाउने प्रयास गरेको छु। बाँकी कार्यकालको योजना भने कार्यकाल पछि नै पुनः लेखौंला। अहिले भरतपुर महानगरपालिकाको विकासको चर्चा गरौँ। २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन र पुनः दोस्रो पटक २०७९ वैशाख ३० गतेबाट भरतपुर महानगरपालिकाको प्रमुखको रुपमा रेनु दाहाल निर्वाचित भइन्। प्रकृतिको सुन्दर काखमा रहेको नगर, भरतपुर महानगरलाई स्मार्ट, आधुनिक र समृद्ध सहरको रूपमा स्थापित गर्न आजसम्म दाहाल र उनको टिमले कति आरोह-अवरोहको सामना गर्नुपर्यो, त्यो फरक कुरा होला।
तर, आम जनताको भोगाइमा भरतपुर महानगरको पूर्वाधार विकासमा भने नेतृत्वले सफलता पाएको देखिन्छ। सडक सञ्जालको निर्माण र व्यवस्थापन, रिङ रोडदेखि ठूला ४ लेन र ६ लेन सडक एउटा उदाहरण हो। पूर्वाधार मात्र होइन अहिले राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालादेखि सिटिहल, नारायणी तटबन्धन, पर्यटन पूर्वाधारको निर्माण, स्वास्थ्यको क्षेत्रमा व्यापक भौतिक तथा प्राविधिक पक्षको सुधार भएको छ। यसले रोजगारी सिर्जना, महानगरवासीको आय वृद्धिका क्षेत्रमा कोशेढुङ्गा साबित हुने नै छ। राजनीतिक रूपमा प्रतिस्पर्धीको भूमिकामा रहेका सबै दलहरूलाई समेटेर सँगसँगै लिएर हिँड्न सक्ने मेयर दाहालको खुबी, नगरवासीप्रतिको निष्ठा र लगाव प्रशंसा योग्य छ। समग्र रुपमा भन्नुपर्दा महानगरको नेतृत्वलाई भरतपुरवासीको मात्र नभई चितवनको नै अभिभावकको रुपमा हेर्न थालिएको छ। देश आर्थिक मन्दीको चपेटामा परेको बेला भरतपुर महानगरले चितवनको विकास र पर्यटन क्षेत्रको विकासका लागि “घुमौं भरतपुर”भन्ने अभियानका साथ सुस्ताएको पर्यटन उद्योगलाई टेवा दिन सकारात्मक भूमिका खेल्दै आयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीका रूपमा परिचित गराउन खोज्नेको बिचमा पनि रेनु दाहालले एउटा त्यस्तो महिला नेतृत्वको पहिचान बनाएर भरतपुरको विकास, समृद्धिको पथमा नयाँ मोडल स्थापना गरेकी छन्। दूरद्रष्टा नेतृत्व भएमा विकास र समृद्धिको ढोका खोल्न भरतपुरवासीको विकास, समृद्धि, सुशासनको सपना पूरा गर्न सकिन्छ भन्ने कुरा भरतपुर महानगरको विकासले छर्लङ्ग पारेको छ।
महानगरले स्थानीय सरकारलाई सङ्घीय र प्रादेशिक सरकारसँगको समन्वय, सहकार्य, विकास र समृद्ध भरतपुर निर्माणको महाअभियानलाई सफल बनाउन सकिने आधार प्रस्तुत गरेको छ। भरतपुरको केन्द्रीय अस्पतालको स्तर उन्नतिदेखि भरतपुर महानगरभित्र नारायणगढ-गोन्द्राङ ६ लेन सडक निर्माण सम्पन्न हुने अन्तिम चरणमा हुनु, बाइपास सडक खण्ड सम्पन्न हुनु,महानगर भित्रका बिजुलीको तारहरू भूमिगत कार्य प्रारम्भ भई समापनकै चरणमा रहनु ,देवघाटमा विद्युतीय शवदाह गृह निर्माणको कार्य अन्तिम चरणमा पुग्नु, भरतपुर महानगरको पुरानो जीर्ण भवनबाट नगरवासीलाई सेवा प्रवाहमा कठिनाइ भई रहेको अवस्थामा रेनु दाहालकै सक्रिय अगुवाइमा भरतपुर महानगरको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुग्नु, भरतपुरको एकीकृत ढल सुधारको लागि एडिबीको सहयोगमा पूर्वाधार निर्माणले गति लिनु,सात वर्षमा महानगरभित्र ९३४ किमी सडक कालोपत्रे, ८८ किमी महानगरको चक्रपथ, भित्री सडक, बाइपास सडक स्तरोन्नति यस्ता कैयन कार्य सानो लगाव र मिहिनेतले सम्भव भएको होइन। यी काम गर्न नगरका जनप्रतिनिधि ,कर्मचारी र मेयरको सचिवालयको उत्तिकै मिहिनेत परेको छ।
सिटी हल निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ। इन्जिनियरिङ क्याम्पसको स्थापनासँगै भरतपुर अस्पतालमा एमबिबिएसको अध्ययन सुरुवातको लागि कार्य प्रारम्भ, शिक्षक अस्पताल स्थापना र निर्माण प्रारम्भ,पर्यटन उद्योगको विकासका लागि पर्यटन वर्ष घोषणा यसले भरतपुरमा आन्तरिक तथा बाह्य पर्यटन बढ्ने अपेक्षा राखिएको छ।
साथै स्वदेश तथा विदेशका नगरबिच भगिनी सम्बन्ध स्थापना गरी नवीनतम प्रविधि, सीप,पुँजी,पर्यटक भित्र्याउन रणनीतिक रुपमा अगाडि बढेको देखिन्छ भने चितवनको भरतपुर र नवलपुरको गैँडाकोटलाई जोड्ने गरी नारायणी नदिमाथि निर्माण सुरु हुन लागेको सिग्नेचर ब्रिज, भरतपुर विमानस्थलको विस्तार, जसको रणनीतिक महत्वले दीर्घकालीन रुपमा प्रभाव राख्ने छ।
यी रणनीतिक योजना कार्यान्वयन,अधिकांश सम्पन्न हुने चरणमा भएकोले प्रतिफल आगामी दिनमा देखिँदै जानेछन्। मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न इन्जिनियरिङ क्याम्पस, भरतपुर अस्पताल र सबै वडा तहमा प्राविधिक शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
नारायणी नदि डुबान, कटान नियन्त्रणका लागि तटबन्धन, गेम चेन्जिङ परियोजनाको रुपमा देखा परेको छ। वर्षेनी विपद्को सामना गर्दै आएका नारायणी नदि आसपासका नागरिकको जीवनमा यो योजनाले रूपान्तरण ल्याएको छ। तटबन्धको काम अझै जारी छ। महानगरभित्र ४० वटा स्वास्थ्य संस्थाको स्थापना गरिएको छ, जसबाट नागरिकको स्वास्थ्य सेवामा प्रभावकारी ढङ्गले काम गर्न सकिएको छ भने जटिल समस्याको रुपमा देखिएको नसर्ने प्रकृतिका रोगहरू राज्य र नागरिक दुबैलाई ठुलो आर्थिक भार पर्ने रोगहरू पहिचान र न्यूनीकरणमा सहजता ल्याएको छ।
कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न महानगरले धान रोप्ने र काट्ने मेसिन, ट्याक्टर,दूध दुहुने मेसिन अनुदानमा कृषकलाई उपलब्ध गराएको छ। यसले कृषिको उत्पादकत्व वृद्धिसँगै कृषकको जीवनस्तर सुधारमा भूमिका खेलेको छ। दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न योगदानमा आधारित प्रतिलिटर ४ रुपैयाँका दरले अनुदान दिने व्यवस्था महानगरको नीति तथा कार्यक्रम ल्याउनुले महानगरले कृषक र कृषि पेसाप्रति अभिभावकीय भूमिका निर्वाह गरेको छ। अनुदान प्रोत्साहनले दूध उत्पादनमा वृद्धि हुने ,कृषि पेसामा लाग्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न सहयोग गरेको छ भने अन्नको भण्डारको रुपमा समेत ख्याति कमाएको भरतपुरमा भूमिगत,स्यालो ट्युबेल,सयौँ डिप बोरिङ तथा नारायणी लिफ्टको स्तरोन्नति गरी लिफ्टमार्फत १२ महिना सिँचाई पुर्याइएको छ। उन्नत जातको बिउमा अनुदान वितरण गरेर उत्पादन वृद्धिलाई थप सहयोग पुर्याउने गरी कार्य गरिएको छ।
जङ्गली जनवार र मानवबिचको टकराब कम गरेर जङ्गली जनावरबाट बालीनाली, जनधनमा हुने क्षति न्यूनीकरण गर्न जङ्गल छेउ जोडिएका बस्ती क्षेत्र वरपर फाउन्डेसन सहितको मेस जाली निर्माण सम्पन्न भएको छ।नारायणी नदि किनारलाई सौन्दर्यकरणमार्फत् भरतपुरको आन्तरिक पर्यटन प्रवर्द्धन र नदि तटीय क्षेत्र सुरक्षित गर्न नदिलाई समुन्द्री किनार जस्तै स्वरूपमा विकास गर्ने सीबीच मोडलले भरतपुरको सुन्दरतामा थप वृद्धि गरेको छ। नारायणी नदि किनारसँगै रहेको आँपटारीस्थित देशकै चर्चित दियालो बङ्गला दरबार आम सर्वसाधारण जनताको लागि खोलेर आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गरिएको छ।
भरतपुर महानगरपालिका र नेपाल ट्रस्टको संयुक्त व्यवस्थापनमा दियालो बङ्गलालाई आम सर्वसाधारणले समेत हेर्न मिल्ने गरी खोलिएको छ। भरतपुरलाई हरियाली सहरको रुपमा विकास गर्न हरियाली प्रवर्द्धनको लागि नर्सरी स्थापना गर्नुका साथै भरतपुर महानगरभित्र पर्ने सडकका ट्राफिक आइल्याण्डहरुमा रोपिएका बिरुवाले भरतपुरको थप आकर्षण थपेको छ।
आफ्नो चुनावी बाचा अनुसार मेयर दाहालले भरतपुरवासीलाई मासिक सात हजार लिटरसम्म निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ। भरतपुर महानगरपालिका भित्रका विपन्न, असहाय, सीमान्तकृत परिवारको लागि घर बनाउने योजना अन्तर्गत मेयर विपन्न आवास कार्यक्रमको सुरुवात गरेर घर हस्तान्तरण गर्ने कार्य अभियानकै रुपमा सुरु भएको छ। सबै स्थानीय सरकारको समस्याको रुपमा रहेको फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनको थालनी भएको छ। सामुदायिक विद्यालयको स्तरोन्नति, विकास र प्राविधिक शिक्षाको विकास भएको छ।
खेलकुदमार्फत खेल पर्यटन र स्वास्थ्यलाई सँगसँगै लैजाने गरी महानगरको नीति तथा कार्यक्रममा नै महिला फुटबलको लागि समेटिएको छ। आउँदो माघमा मलेसियामा हुन गइरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीको लागि नेपाली क्रिकेट यु-१९ महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सञ्चालन भइरहेको छ। स्थानीय स्तरमा मेयर कप क्रिकेट, फुटबल थुप्रै यस्ता प्रतियोगिता सञ्चालन गरेर तल्लो तहबाट नै लुकेर रहेका खेल क्षेत्रका प्रतिभाको पहिचान र स्तर वृद्धिमा अहम् भूमिका खेल्दै आएको छ। चितवन जिल्ला र यस आसपासका छिमेकी जिल्लाहरूमा समेत समस्याको रुपमा देखिएको सवारी दर्ता, सवारी चालक अनुमति पत्र, नवीकरण कार्य भरतपुरमा सुरु भएको छ। भरतपुर महानगरभित्र बसोबास गर्ने बुबा आमाबाट जन्मिएका छोरीहरूको निःशुल्क रुपमा १ लाख सम्मको छोरी बिमा कार्यक्रम, महानगरपालिका भित्रका गरिब, जेहनदार, जनयुद्ध,जनआन्दोलनका घाइते सहिद सन्ततिलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। भूमिहीन सुकुम्वासी, दलितलाई लालपुर्जा वितरणको प्रक्रियाका लागि भूमिको निस्सा र पुर्जा वितरण गर्न थालिएको छ।
भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ३०० कि.मि सडक क्षेत्रमा स्मार्ट बत्ती, हाईमास्ट जडान कार्य सम्पन्न गरिएको छ। पश्चिम चितवनको गोलाघाट, मेघौलीबाट २ घण्टा लगाएर भरतपुर आउने आम नागरिकको अनुभवलाई बिर्साउँदै आधा घण्टामा जगतपुर, मेघौली, चौकीडाँडाबाट सदरमुकाम जोड्ने कालोपत्रे खुला र फराकिलो सडकले जोडिदिएको छ।
राष्ट्रिय राजनीतिमा आउने हरेक परिस्थितिलाई भरतपुरको अनुकूलतामा ल्याएर सङ्घीय सरकारका कार्यक्रम,आर्थिक सहयोग,अनुदानलाई दक्षतापूर्वक भरतपुरको हितमा प्रयोग गर्दै आजको समृद्ध भरतपुर निर्माणमा भूमिका खेल्ने भरतपुरको मेयर रेनु दाहाल आफैँमा धन्यवादको पात्र हुन्। भरतपुर महानगरपालिका र यसको नेतृत्वले नगरवासीको अभिभावक, आशा र भरोसाको केन्द्रको रूपमा आफूलाई स्थापित गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij