Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले जोगायो शीर्षस्थान

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले जोगायो शीर्षस्थान

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ । जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले अंकतालिकाको शीर्षस्थानसमेत जोगाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए । आदित्य महता ३० रनमा अविजित रहँदा सैफ हसनले २८ र तृत राज दासले १८ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि डार्सी शर्टले तीन विकेट लिए । शेर मल्ल र तिलक भण्डारीले समान दुई तथा रुबेन ट्रम्पलमनले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ तथा आसिफ शेखले २१ रनको योगदान दिए । रुबेन ट्रम्पलमनले १५ र शमिम हुसेनले १३ रन जोडे ।

बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल सुशलिङले समान दुई विकेट लिए । हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे । चार खेलबाट तीन जित र एक रद्द खेलसहित सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत् छ । पाँच खेल खेलेको जनकपुर दुई जित र तीन हारसहित चार अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट