Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

वर्षाले बिगार्‍यो एनपीएलको तालिका, आजका दुवै खेल प्रभावित हुने संकेत

वर्षाले बिगार्‍यो एनपीएलको तालिका, आजका दुवै खेल प्रभावित हुने संकेत

काठमाडौँ : काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल अन्योलमा परेका छन् । वर्षा जारी रहे पहिलो खेल रद्द हुने सम्भावना बढेको छ भने दोस्रो खेल पनि हुने वा नहुने निश्चित छैन ।शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ । तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन् ।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म काठमाडौंसहित धेरै स्थानमा वर्षा हुने सम्भावना छ । त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ ।वर्षा रोकिए पनि मैदान खेलका लागि तयार पार्न पर्याप्त समय नहुने देखिन्छ । लामो समयको वर्षाका कारण मैदानको बाहिरी भागमा पानी जमेको र जमिन भिजेर हिलाम्मे भएको हुन सक्छ । यस्तो अवस्थामा पिचलाई कभरले जोगाइएको भए पनि आउटफिल्ड खेल्नयोग्य बनाउन थप समय लाग्न सक्छ ।

मैदानमा पानी जमेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न तथा फिल्डरलाई दौडिन र दिशा परिवर्तन गर्न कठिन हुन्छ । यसले खेलाडीको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ । त्यसैले वर्षा रोकिएलगत्तै खेल सुरु गर्न सम्भव नहुन सक्छ ।पहिलो खेलका लागि समय पनि चुनौतीपूर्ण छ । दोस्रो खेल साँझ ५ बजेका लागि तय भएकाले पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३:४० देखि ३:५५ बजेसम्मको समयसीमा रहने देखिन्छ । मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले वर्षा दिउँसो १ बजेसम्म पनि नरोकिने हो भने पहिलो खेल हुने सम्भावना निकै कम हुनेछ ।

दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलपछि मैदानको अवस्था र वर्षा रोकिने समयले दोस्रो खेल हुने वा नहुने निर्धारण गर्नेछ ।एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन । त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट