Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक : मन्त्री पोखरेल

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक : मन्त्री पोखरेल

काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक भएको बताएका छन्।

बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित दिवसीय ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुईदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्याल सञ्चालन गर्दा औचित्य पुष्टि गर्ने गरी खोल्नुपर्ने बताए।

विश्वविद्यालयहरू भूगोलको आवश्यकतानुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले खोलिएका विश्वविद्यालयले भूगोलको आवश्यकता उक्त क्षेत्रले खोजेको रोजगारी जस्ता विषयलाई सम्बोधन गर्न सक्नुपर्ने बताए।

सङ्घीय र प्रादेशिक विश्वविद्यालयबीचको सम्बन्ध तथा विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योलता हटाउनु आवश्यक भएको उल्लेख गर्दै उनले विश्वविद्यालय स्थापनापूर्व आयोगसँग परामर्श र समन्वय गरिएको भए वर्तमानमा देखिएका कतिपय समस्या उक्त समयमै समाधान हुन सक्ने बताए।

संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा खुल्ने विश्वविद्यालयका विषयमा शुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्नेमा उनको जोड छ। शिक्षामा लगानी गर्ने कुरामा सरकार पछि नहट्ने बताउँदै मन्त्री पोखरेलले आवश्यकता र उपलब्ध स्रोतका आधारमा लगानी बढाइने धारणा राखे।

नतिजामुखी पाठ्यक्रमको निर्माण, प्रयोग र गुणस्तरको सुनिश्चितता सम्बन्धी व्यवस्था अब बन्ने ऐनमा स्पष्ट हुनु जरुरी रहेको उनको भनाइ थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताए।

हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनुपर्ने बताउँदै उनले बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने बताए। वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएको बताउँदै उनले समयको मागलाई आत्मसात गर्नु आवश्यक हुने बताए।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij