Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं : कोसी प्रदेशका मोरङ, झापा र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई मोटरसाइकल चालक तथा एक पैदलयात्री छन् ।

मोरङको विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ । प्रहरीका अनुसार निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

टाउको र नाकमा गम्भीर चोट लागेका पोखरेलको विराट नर्सिङ होममा उपचारका क्रममा राति १ः१० बजे मृत्यु भएको हो । त्यस्तै, झापाको दमक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक मंगलप्रसाद साउदेनको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९२ नम्बरको यात्रुवाहक बसले प्रदेश १–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा छातीमा चोट लागेका पाँचथरको मेमेङ घर भई हाल मोरङको लेटाङ नगरपालिका–८ बस्ने ५३–५४ वर्षीय साउदेनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई निम्स अस्पताल दमकमा प्राथमिक उपचारपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी दिँदै बस र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।यसैगरी, उदयपुरको बेलका नगरपालिका–९ स्थित झण्डा चोकमा बोलेरोको ठक्करबाट ५६ वर्षीया लक्ष्मीकुमारी राईको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गमा रामपुरबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ज ००२२ नम्बरको बोलेरोले पैदलयात्री राईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij