काठमाडौँ : मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो।
विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ।
विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ।
मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ। विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ।
विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij