Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह

बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह

काठमाडौं : आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

बङ्गालको खाडीमा विकसित हुन लागेको मौसमी प्रणाली थप सक्रिय हुँदै भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्न सक्ने मौसमविद्हरूले बताएका छन् । उक्त प्रणालीका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना छ ।

सम्भावित वर्षाले धान काट्ने तयारीमा रहेका किसानको काम प्रभावित हुन सक्ने देखिएको छ । बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानले मौसमको अवस्थालाई ध्यान दिनुपर्ने मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन् ।

त्यस्तै, दसैँपछि आफ्नो कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई पनि शुक्रबार र शनिबार यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न उनले सुझाव दिएका छन् । सम्भावित वर्षा र हिमपातका कारण यात्रामा कठिनाइ हुन सक्ने भएकाले पूर्वतयारी गरेर मात्र यात्रा गर्नुपर्ने उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटक तथा पदयात्रीलाई समेत मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै किसान, यात्रु तथा पदयात्रीले मौसमसम्बन्धी सूचनामा ध्यान दिनु आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट