काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कात्तिक १२ गते पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ । उनीहरूलाई सोही दिन निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गर्ने तयारी छ ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने गरी तयारी अघि बढाइएको हो । यद्यपि, कार्यक्रमको मिति भने औपचारिक रूपमा निश्चित भइसकेको छैन ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित गगन थापाले भने असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
सभापति थापाले शपथ लिइसके पनि उनीबाहेकका २३० पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ । निर्वाचन समितिले उनीहरूलाई एकै दिन शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने तयारी गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij