काठमाडौंः साउदी अरबमा लगातार आक्रमण भइरहेका बेला अमेरिकाले त्यहाँ कार्यरत केही कूटनीतिज्ञ र अमेरिकी सरकारी कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको छ।
पछिल्ला आक्रमणमा साउदी अरबको एक विमानस्थल र तेल प्रशोधनसम्बन्धी पूर्वाधारमा क्षति पुग्नुका साथै कम्तीमा तीन जनाको मृत्यु भएको द गार्जियनले जनाएको छ।
यमनका इरानसमर्थित हुथी विद्रोहीले सर्वसाधारणले प्रयोग गर्ने विमानस्थल र अन्य संवेदनशील पूर्वाधारलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरेपछि अमेरिकाले कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले कर्मचारी र उनीहरूका परिवारको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएका छन्।
विदेश मन्त्रालयका अनुसार, यो आदेश रियादस्थित अमेरिकी दूतावास तथा साउदी अरबमा रहेका अन्य अमेरिकी कूटनीतिक नियोगमा लागु हुनेछ।
इरानविरुद्ध अमेरिकाले युद्ध सुरु गरेलगत्तै रियादस्थित अमेरिकी दूतावासमा ठूलो क्षति पुगेको थियो। त्यसपछि दूतावास सीमित कर्मचारीका भरमा सञ्चालन हुँदै आएको थियो। यद्यपि, पछिल्ला साताहरूमा केही कूटनीतिज्ञ फर्किएका थिए।
एनबीसी र एएफपी लगायतका सञ्चारमाध्यमले संयुक्त अरब इमिरेट्स, जोर्डन, कतार र बहराइनबाट पनि अमेरिकी कूटनीतिज्ञका परिवारलाई फिर्ता बोलाउन थालिएको समाचार दिएका थिए। ‘द न्युयोर्क टाइम्स’ले ट्रम्प प्रशासनले इरानविरुद्ध पुनः युद्ध सुरु गर्ने योजना बनाइरहेको पनि उल्लेख गरेको थियो।
तर, बुधबार जारी वक्तव्यमा प्रवक्ता पिगोटले अन्य देशबाट अमेरिकी कर्मचारीका परिवारलाई फिर्ता बोलाइएको भन्ने खबरलाई ‘तथ्यहीन’ बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij