काठमाडौं : ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ।
टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ।
उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ। उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो।
पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपासतर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ। यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ।
कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ। टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ।
पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij