Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

योग्यता नपुगेका उम्मेदवार छनौट गरिएकाे भन्दै आपत्ति

योग्यता नपुगेका उम्मेदवार छनौट गरिएकाे भन्दै आपत्ति

काठमाडौँ : योग्यता र मापदण्ड नपुगेका उम्मेदवारलाई आयुर्वेद परिषद्को अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ ।  विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनोट गरिएका उम्मेदवारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेदवार समावेश गरिएको भन्दै समाजले विरोध जनाएको हो।

समाजका अनुसार आयुर्वेद विषयमा स्नातकोत्तर योग्यता नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा पद्धति) मा स्नातकोत्तर गरेका व्यक्तिलाई समेत आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष पदको अन्तर्वार्ताका लागि छनोट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रचलित कार्यविधिको भावना विपरीत रहेको छ ।’

यसअघि प्रारम्भिक सूची प्रकाशित हुँदा नै समाजले स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयमा निवेदन दर्ता गराई (दर्ता नं २८) ध्यानाकर्षण गराएको भए तापनि सोको बेवास्ता गरी अन्तर्वार्ताको सूचीमा ती उम्मेदवारको नाम समावेश गरिनु आपत्तिजनक रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयुर्वेद र अकुपञ्चर फरक–फरक शैक्षिक तथा व्यावसायिक विधा भएकाले विधि र पारदर्शी प्रक्रियाका आधारमा मात्र चयन हुनुपर्ने समाजको जोड छ । समाजका सचिव डा.निश्चल गुप्ताले जारी गरेको विज्ञप्तिमा सुशासन र विधिको शासनको मर्मअनुसार अन्तर्वार्ता सम्बन्धी सूचना तत्काल सच्याई योग्य उम्मेदवारहरूलाई मात्र समावेश गरेर सूची संशोधन गर्न जोडदार माग गरिएको छ । परिषद् अध्यक्षमा जया सत्याल, देवकला भण्डारी, श्यामबाबु यादव र सिद्धार्थकुमार ठाकुर अन्तर्वार्ताका लागि छनौटमा परेका छन् ।

759001391_1040475171718640_7348897705797454012_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij