सिरहाः सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ।
मृतकका परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने तथा शव बुझेर शनिबार नै दाहसंस्कार गरिने उल्लेख छ। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा समेटिएको गृहमन्त्री गुरुङले बताए।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानलाई सहज बनाउन शव त्यहाँ पठाइएको र भोलि हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।
घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र पीडित परिवार कसरी विश्वस्त हुने भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिएको बताए। उनका अनुसार सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको छ। समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवार र आमजनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने विश्वास उनले व्यक्त गरे।
गृहमन्त्री गुरुङले आफू स्वयम् घटनाको अनुगमन गरिरहेको उल्लेख गर्दै दोषी जोसुकै भएपनि कानुनी दायरामा ल्याइने बताए। यद्यपि, २३ र २४ भदौको जेन–जी आन्दोलनमा मृत्यु तथा घाइते भएका व्यक्तिहरूले अझै न्याय नपाएको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको भने गृहमन्त्री गुरुङले जवाफ नदिई त्यहाँबाट प्रस्थान गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij