Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विदेशी पर्यटकसँग बढी बिल असुल गरी धाकधम्की दिने ३ जना पक्राउ

विदेशी पर्यटकसँग बढी बिल असुल गरी धाकधम्की दिने ३ जना पक्राउ

काठमाडौँ :  काठमाडौँका विभिन्न डान्सबार, क्लब तथा रेस्टुरेन्टमा विदेशी पर्यटकलाई बढी बिल उठाएर ठगी गर्ने र धाकधम्की दिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओभर बिलिङको विरोध गर्दा सञ्चालक तथा कर्मचारीले हातपात र दुःख हैरानी दिने गरेको सूचना पाएपछि प्रहरी वृत्त लैनचौरको टोली खटिएको थियो। 
सम्झाई-बुझाई गर्न खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि नै गालीगलौज तथा हातपात गरेपछि र सर्वसाधारण महिलालाई अपशब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० घर भई हाल काठमाडौँ बौद्ध बस्ने ‘नाइट इन्टरटेनमेन्ट क्लब एन्ड डान्स बार’का स्टाफ २८ वर्षका कुमार पराजुली, बागलुङ गलकोट नगरपालिका–११ घर भई काठमाडौँ माछापोखरी बस्ने सोही बारका स्टाफ २४ वर्षका रोसन बस्याल र रामेछाप मन्थली नगरपालिका–९ घर भई काठमाडौँ तारकेश्वर बस्ने ‘हलिउड डान्स क्लब’का म्यानेजर २६ वर्षका सुसान गिरी रहेका छन्।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पराजुली र बस्यालको हकमा ३ दिन तथा गिरीको हकमा १ दिनको म्याद थप गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij