चितवन : धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने नेपालको रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। भगवान् रामले सीतालाई वनवासका क्रममा यही आश्रममा छाडेको, लव–कुशको जन्म तथा सीता माताले पाताल प्रवेश गरेको विश्वास गरिने यो स्थल अहिले संरक्षणको पर्खाइमा छ।
आश्रम परिसरमा सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेष, लव–कुशले अश्वमेध यज्ञको घोडा बाँधेको मानिने खम्बा, प्राचीन पाठशालाका अवशेष, विष्णु चक्रलगायतका बहुमूल्य पुरातात्त्विक सम्पदा रहेका छन्। तर ती अवशेष खुला आकाशमुनि छरिएर जीर्ण बन्दै गएका छन्।
वाल्मीकि आश्रम प्रशासनिक रूपमा चितवनको माडी नगरपालिका–१ मा पर्छ। नेपालतर्फबाट त्यहाँ पुग्न चितवन राष्ट्रिय निकुञ्जको जंगल हुँदै करिब एक घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले पहुँच सहज छैन। अधिकांश यात्रुले भारतको वाल्मीकिनगर हुँदै आश्रम पुग्ने गरेका छन्, जहाँ विभिन्न सुरक्षा जाँच पार गर्नुपर्ने बाध्यता छ।
धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस आश्रमको संरक्षण, पूर्वाधार विकास र सहज पहुँच सुनिश्चित गर्न स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका छन्। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव हुँदा रामायणकालीन यो महत्वपूर्ण सम्पदा अझै संरक्षणको पर्खाइमा रहेको स्थानीयको गुनासो छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij