Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठक मौन

सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठक मौन

काठमाडौँ : सामाजिक सद्भाव बिथोलिएको सुनसरीको देवानगञ्ज आइतबारदेखि लयमा फर्किन सकेको छैन। आइतबार बेलुकी दुई पक्षबीच भएको झडपले अशान्त बनेको देवानगञ्ज आसपास क्षेत्रमा अझै कर्फ्यू जारी छ। आकाशमा सेनाको हवाइ गस्ती, जमिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी जारी छ।

फेरि झडपको स्थिति त आइलाग्ने होइन वा यसको बाछिटा अन्यत्र फैलिने त होइन भन्दै देशभरका नागरिक त्रासमा छन्। काठमाडौँमा बुधबार बिहान सर्वदलीय बैठक बसेर सद्भाव कायम गर्नका लागि उपाय खोज्ने सहमति भयो। सत्तारुढदेखि विपक्षी दलका नेताले तल्लो तहमा सर्वदलीय बैठक गरी समाधान खोज्ने प्रतिबद्धता जनाए। यता सुनसरीलगायत जिल्लामा समाजका विभिन्न पक्षसहित धर्मगुरुहरू  सद्भाव बढाउने गतिविधिमा लागेका छन्। 

यस्तोमा देशको मूल (संघीय)  सरकार भने यो घटनामा मौन देखिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो घटनामा सम्बोधन गर्ने, केही निर्णय गर्ने अपेक्षा थियो तर न त सम्बोधन नै भयो न त केही निर्णय आयो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिरहँदा सरकारका प्रवक्ता सस्मित पोखरेललाई ‘सुनसरी घटनाबारे केही निर्णय भएन ?’ भनेर पत्रकारले सोधका थिए। तर उनले यसबारे केही  जवाफ दिएनन्। विषयान्तर गरे।

पर्साको नारायणी अस्पतालमा चिकित्सक कुटिएको र त्यसको प्रतिक्रियास्वरूप चिकित्सकले देशभर सेवा ठप्प पारेको विषयमा पनि मन्त्रिपरिषद् बैठक मौन देखिएको छ।

त्यसो त मंगलबार फेसबुक स्टाटस लेखेर प्रधानमन्त्री बालेन्द्र शाहले संयम रहन आग्रह गरेका थिए। चिकित्सकको समस्या समाधानका लागि आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीच वार्ता पनि भइरहेको छ। यी विषय नागरिकसँग प्रत्यक्ष जोडिने विषय हुन्। यी विषयमा सरकारले के गर्दैछ भन्ने विषय नागरिकले औपचारिकरूपमा सुन्न चाहेका हुन्छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij