Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ :  आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी देशभर गुरु पूर्णिमा पर्व मनाइँदै छ ।

तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । शास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत स्वीकार गरेको छ । माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भन्ने गरिन्छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः ।

गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

यस अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाहरूले कार्यक्रम आयोजना गरी आफ्ना गुरुप्रति श्रद्धा प्रकट गरिरहेका छन्।

 

व्यास जयन्ती

आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यासको जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने गरिएको हो ।

वेद व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार नै धर्म हो र अरूलाई पीडा दिनु पाप हो’ भन्ने मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेद मानिने महाभारतको रचना पनि व्यासले नै गरेका हुन् ।

गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना गरेका छन् । यसै सन्दर्भमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij