कैलाली : भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने जानकारी सँगै महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी प्राप्त भएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सिल्ट सफाइका लागि बाँधका ढोका खोलिने भएकाले उक्त अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले आज विज्ञप्ति जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरे।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij