Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गोसाइँकुण्ड र सुपा देउरालीमा पनि केबलकार बन्ने, ११ अर्ब ३१ करोड रुपैयाँ लगानी हुँदै

गोसाइँकुण्ड र सुपा देउरालीमा पनि केबलकार बन्ने, ११ अर्ब ३१ करोड रुपैयाँ लगानी हुँदै

काठमाडौं : दोलखामा कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार परियोजना सञ्चालन गरिरहेका व्यवसायी बालकृष्ण शिवाकोटीले धार्मिक पर्यटन क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने भएका छन्।

कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष तथा नेकपा एमालेका नेतासमेत रहेका शिवाकोटीले सिन्धुपाल्चोक-रसुवा क्षेत्रमा 'सूर्यकुण्ड-गोसाइँकुण्ड केबलकार' र अर्घाखाँचीमा 'सुपा देउराली केबलकार' निर्माण प्रक्रिया थालेका छन्। दुई परियोजनामा गरेर ११ अर्ब ३१ करोड ८ लाख ४० हजार रुपैयाँ लगानी हुने छ। 

अहिले प्रक्रिया सुरु गरेको तर लाइसेन्सको प्रक्रिया लामो हुने भएकोले कामको अवधि यकिन नभएको तर लगानी जुटाएर निर्माण थाल्न आफू आतुर रहेको शिवाकोटीले बताए। ‘अहिले ठ्याक्कै के-के हुन्छ भन्न सकिँदैन तर बनाउन सकिने भएर नै दर्ता गरेर प्रक्रिया अगाडि बढाएको हो,’ शिवाकोटीले भने।

उद्योग विभागमा दर्ता भएको विवरणअनुसार सूर्यकुण्ड गोसाइँकुण्ड केबलकार प्रालिमार्फत निर्माण हुन लागेको परियोजनाको कुल लागत १० अर्ब १ करोड ८ लाख ४० हजार रुपैयाँ छ। यसमध्ये ९९ करोड १ लाख ८४ हजार रुपैयाँ विदेशी लगानी र १० करोड रुपैयाँ स्वदेशी लगानी रहने उल्लेख गरिएको छ। बाँकी रकम ऋण तथा अन्य वित्तीय स्रोतबाट जुटाउने योजना छ। परियोजनाले वार्षिक ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ।

त्यस्तै सुपा देउराली केबलकार प्रालिमार्फत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ मा निर्माण प्रस्ताव गरिएको केबलकार आयोजनाको कुल लागत १ अर्ब ३० करोड रुपैयाँ छ। यसमा १ अर्ब २८ करोड रुपैयाँ विदेशी लगानी र २ करोड रुपैयाँ स्वदेशी लगानी रहने प्रस्ताव गरिएको छ। वार्षिक ५ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखिएको यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रियासमेत अघि बढिसकेको छ।

धार्मिक पर्यटनलाई केन्द्रमा राखेर निजी क्षेत्रबाट अघि बढाइएका केबलकार परियोनामध्ये यी दुई ठूलो लगानीका रूपमा रहेका छन्।

गोसाइँकुण्ड : धार्मिक आस्था र हिमाली पर्यटनको केन्द्र

सूर्यकुण्ड-गोसाइँकुण्ड केबलकारमा शिवाकोटीको सबैभन्दा ठूलो लगानी केन्द्रित हुने छ। गोसाइँकुण्ड नेपालको प्रमुख धार्मिक तथा प्राकृतिक सम्पदामध्ये एक हो। रसुवा जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्जभित्र समुद्री सतहबाट करिब ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको यो हिमाली ताल हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र मानिन्छ।

पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न विष सेवन गरेपछि भगवान शिवले आफ्नो शरीरको ताप कम गर्न त्रिशूलले प्रहार गर्दा गोसाइँकुण्डको उत्पत्ति भएको विश्वास गरिन्छ। हरेक वर्ष जनैपूर्णिमाका अवसरमा नेपाल र भारतबाट हजारौँ श्रद्धालु यहाँ पुगेर स्नान तथा पूजाआराधना गर्ने गर्छन्।

धार्मिक महत्त्वसँगै गोसाइँकुण्ड जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रमा दुर्लभ वन्यजन्तु, उच्च हिमाली वनस्पति तथा हिमताल छन्। गोसाइँकुण्ड सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा समेत सूचीकृत छ।

हाल गोसाइँकुण्ड पुग्न लामो पदयात्रा गर्नुपर्ने भएकाले वृद्धवृद्धा, अशक्त तथा धेरै श्रद्धालुका लागि यात्रा कठिन हुने गरेको छ। केबलकार निर्माण भए धार्मिक पर्यटनसँगै हिमाली पर्यटनमा समेत नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। साथै हेलम्बु, रसुवा र आसपासका क्षेत्रमा होटल, होमस्टे, कृषि, यातायात र स्थानीय व्यवसायमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ।

पश्चिम नेपालको प्रसिद्ध सुपा देउराली

शिवाकोटीको दोस्रो परियोजना अर्घाखाँचीको चर्चित धार्मिक गन्तव्य सुपा देउराली मन्दिरमा केन्द्रित छ। सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डमा रहेको यो मन्दिर पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। देवी भगवतीप्रति आस्था राख्ने भक्तजन दसैँ, चैते दसैँ, नवरात्र तथा अन्य पर्वका अवसरमा ठूलो संख्यामा यहाँ पुग्ने गर्छन्।

लुम्बिनी प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यका तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू सुपा देउराली पुग्ने गरेका छन्। पछिल्ला वर्षहरूमा सडक विस्तारसँगै दर्शनार्थीको संख्या बढे पनि पर्वका बेला अत्यधिक भीड र उकालो चढ्नुपर्ने अवस्थाले यात्रुलाई कठिनाइ हुने गरेको छ।

प्रस्तावित केबलकार निर्माण सम्पन्न भए तीर्थयात्रा सहज हुनुका साथै अर्घाखाँचीको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार, कृषि तथा रोजगारीमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अघि बढिसकेकाले अन्य कानुनी प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।

धार्मिक पर्यटनमा निजी क्षेत्रको बढ्दो आकर्षण

नेपालमा पछिल्ला वर्षहरूमा निजी क्षेत्रले धार्मिक तथा पर्यटकीय गन्तव्यलाई केबलकारमार्फत जोड्न लगानी तीव्र बनाएको छ। मनकामना, चन्द्रागिरि, मौलाकालिका र कालिञ्चोक केबलकारको सफल सञ्चालनपछि धार्मिक पर्यटनमा पूर्वाधार लगानीको आकर्षण बढेको हो।

शिवाकोटीले अघि बढाएका गोसाइँकुण्ड र सुपा देउराली परियोजना पनि यही रणनीतिक विस्तारको निरन्तरता हो। दुवै आयोजना सम्पन्न भए नेपालको धार्मिक पर्यटन पूर्वाधारमा ठूलो योगदान पुग्नुका साथै स्थानीय अर्थतन्त्र, रोजगारी, आतिथ्य व्यवसाय र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। दुवै परियोजनाले वातावरणीय स्वीकृति, वन तथा राष्ट्रिय निकुञ्जसम्बन्धी अनुमति, स्थानीय समुदायसँगको समन्वय र वित्तीय व्यवस्थापनलगायतका कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै निर्माण चरणमा प्रवेश गर्नेछन्।

शिवाकोटी नेतृत्वको कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको कालिञ्चोक केबलकार नेपालको सफल धार्मिक पर्यटन परियोजनामध्ये एक मानिन्छ। दोलखा सदरमुकाम चरिकोटबाट उत्तरतर्फ रहेको कालिञ्चोक भगवती मन्दिर समुद्री सतहबाट करिब ३ हजार ८ सय ४२ मिटर उचाइमा छ। केबलकार सञ्चालनअघि भक्तजनले कुरीबाट करिब तीन घण्टा उकालो पैदल यात्रा गरेर मन्दिर पुग्नुपर्ने अवस्था थियो। अहिले केही मिनेटमै कालिञ्चोक मन्दिर पुग्न सकिने भएपछि दर्शनार्थी र पर्यटकको संख्या बढेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij