Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

यी हुन् पहिरोको कारण अवरुद्ध देशका मुख्य राजमार्गहरू

यी हुन् पहिरोको कारण अवरुद्ध देशका मुख्य राजमार्गहरू

काठमाडौँ :  मंगलबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या आएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुरको भोजपुर नगरपालिका-५, बोखिममा मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीका कारण प्रभावित छ। हाल यो सडक खण्ड एकतर्फी रूपमा सुचारु रहेको र अर्को वैकल्पिक बाटो समेत भएको जानकारी दिइएको छ। 

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू गत जेठ २२ गतेदेखि रोकिएका हुन्।


यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ र ४ महालक्ष्मीस्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध छ। जेठ १५ गतेदेखि बन्द भएको यो बाटो मर्मत कार्य चलिरहेकाले यही महिनाको २५ गतेसम्म बन्द हुने बताइएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्। लुम्बिनी प्रदेशको रोल्पास्थित माडी गाउँपालिका ६ हार्निडाँडामा असार २२ गते गएको पहिरोका कारण रुकुम-घोराही-सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। 


कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजेगार्ड खोलामा आएको बाढीले असार १७ गतेदेखि भेरी करिडोर पूर्ण रूपमा बन्द छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पनि गत जेठ २३ गते गएको पहिरोले जाजरकोट-डोल्पा सडक खण्डमा पूर्ण रूपमा अवरोध पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij