काठमाडौं : सुन्धारा क्षेत्रका होटलमा बस्ने पाहुनालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सुन्धारा होटल व्यवसायी संघ र सिभिल मल पार्किङ व्यवस्थापनबीच सहकार्य भएको छ। उक्त सहमतिअनुसार अब संघमा आबद्ध होटलका पाहुनाले सिभिल मलको अन्डरग्राउन्ड पार्किङ निःशुल्क प्रयोग गर्न पाउने भएका छन्।
होटल मजेष्टिकाका सञ्चालक तथा सुन्धारा होटल व्यवसायी संघका निवर्तमान महासचिव ठाकुरप्रसाद सापकोटाले यस सहकार्यले सुन्धारा क्षेत्रमा आउने पाहुनालाई पार्किङको झन्झटबाट मुक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सुन्धारा र आसपासका होटलमा आउने धेरै पाहुनाले पार्किङ अभावका कारण असहजता भोग्दै आएका थिए। सिभिल मल पार्किङ व्यवस्थापनसँग भएको सहमतिपछि अब पाहुनाले सुरक्षित, व्यवस्थित र निःशुल्क पार्किङ सुविधा प्राप्त गर्नेछन्, जसले होटल सेवाको गुणस्तरसमेत थप उकास्ने अपेक्षा गरिएको छ।
"हामीले पाहुनाको सुविधालाई प्राथमिकतामा राखेर यो सहकार्य गरेका हौं। यसबाट सुन्धारा क्षेत्रका होटल व्यवसायलाई थप प्रतिस्पर्धी र सेवामैत्री बनाउन सहयोग पुग्नेछ," सापकोटाले बताउनुभयो। उहाँले यो सम्झौता होटल व्यवसायी र सिभिल मलबीचको व्यावसायिक सहकार्य मात्र नभई सुन्धारा क्षेत्रलाई व्यवस्थित पर्यटन तथा आतिथ्य गन्तव्यका रूपमा विकास गर्ने प्रयासको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। सिभिल मलको अन्डरग्राउन्ड पार्किङ प्रवेशद्वारसँगै होटल मजेष्टिक अवस्थित रहेकाले पाहुनालाई पार्किङबाट होटलसम्म पुग्न थप सहज हुने जनाइएको छ।
सुन्धारा होटल व्यवसायी संघले भविष्यमा पनि पाहुनाको सुविधा, सुरक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्ने यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ। व्यवसायीहरूका अनुसार यस किसिमका सेवामूलक पहलले सुन्धारा क्षेत्रको होटल व्यवसायलाई थप चलायमान बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij