Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गैँडाकोटमा ईभी हाईस दुर्घटना हुदाँ ८ जना घाइते,बालकसहित २ को गम्भीर

गैँडाकोटमा ईभी हाईस दुर्घटना हुदाँ ८ जना घाइते,बालकसहित २ को गम्भीर

नवलपुर- पूर्वी नवलपरासीको गैँडाकोटमा आज बेलुकी एक यात्रीबाहक ईभी हाईस दुर्घटना हुँदा दुई जना गम्भीरसहित ८ जना घाइते भएका छन्।पोखराबाट कपिलवस्तुको कृष्णनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको ईभी हाईस गुल्म नजिकै गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटना गैँडाकोट नगरपालिका वडा नं. १० पितौजीस्थित महेन्द्र राजमार्गमा बेलुकी अन्दाजी ५:४० बजे भएको हो।

दुर्घटनाको लगत्तै घटनास्थल नजिकै रहेको सशस्त्र प्रहरीको गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) लक्ष्मण बरालको कमाण्डमा १५ जनाको टोली उद्धारका लागि खटिएको थियो। टोलीले हाईसमा सवार ९ जनामध्ये घाइते ८ जनालाई तत्कालै उद्धार गरी गुल्मको एमटिर (MTR) र गैंडाकोट नगर अस्पतालको एम्बुलेन्स मार्फत उपचारका लागि चितवन मेडिकल कलेज (CMC) भरतपुर पठाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ बस्ने २७ वर्षीया श्रद्धा अग्रवाल र सोही ठाउँका १५ महिनाका बालक नौसद रिसिङ अग्रवालको अवस्था गम्भीर (सिरियस) रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूमा कृष्णनगर–२ कै २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धि सिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल रहेका छन्। उनीहरूको अवस्था भने सामान्य छ।

यस्तै, दुर्घटनामा कपिलवस्तु मानदेवी गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय सवारी चालक विष्णु घर्ती पनि सामान्य घाइते भएका छन्। उनको दायाँ हातमा चोट लागेको छ।

घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी नायब निरीक्षक (प्रबनानि) प्रकाश भण्डारीको कमाण्डमा ५ जनाको टोली खटिएर दुर्घटनाग्रस्त सवारी साधन नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट