चितवन : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पर्यटकीय नगरी सौराहा पुग्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आउनुभएका उहाँ परिवारसहित सौराहा भ्रमणमा रहनुभएको हो। सौराहामा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिनुभएको बताइएको छ।
परिवारसहित चितवन पुग्नुभएका प्रधानमन्त्री शाह सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति विशेष रुचि देखाउँदै हर्षित मुद्रामा देखिनुभएको थियो। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार उहाँले सौराहाको पर्यटकीय सम्भावना र संरक्षणसँग जोडिएको विकासबारे समेत चासो व्यक्त गर्नुभएको थियो। उहाँले सौराहाको वातावरण र वन्यजन्तु अवलोकन गर्दै “यहाँको प्रकृति निकै सुन्दर र संरक्षण योग्य रहेछ” भन्दै अनुभूति व्यक्त गर्नुभएको स्थानीय स्रोतले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री शाह कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसोबास गरिरहनुभएको छ। भ्रमणका क्रममा उहाँ स्थानीयसँग समेत अनौपचारिक भेटघाटमा सहभागी हुनुभएको बताइएको छ। चितवन भ्रमणलाई राजनीतिकभन्दा बढी पारिवारिक तथा पर्यटकीय रूपमा लिइएको छ। सौराहामा प्रधानमन्त्रीको उपस्थितिले पर्यटन क्षेत्रमा थप उत्साह र चहलपहल बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ।