Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अभिनयमा बेजोड, जीवनमा सरल : नाना पाटेकरको कथा

अभिनयमा बेजोड, जीवनमा सरल : नाना पाटेकरको कथा

काठमाडौँ : केही सिने–कलाकार यस्ता हुन्छन्, जसलाई उनीहरूले खेलेका पात्रबाट अलग राखेर हेर्न गाह्रो हुन्छ । बिहीबार निधन भएका नाना पाटेकर त्यस्तै भारतीय कलाकार हुन् । आफ्नो आवाज, आँखाको भाव र संवादको शैलीले उनलाई समकालीन अभिनेताहरूको भीडबाट अलग बनायो । उनी कहिले खतरनाक ग्याङ्स्टर बने, कहिले विद्रोही, कहिले प्रहरी, कहिले रंगमञ्चको वृद्ध कलाकार र कहिले दर्शकलाई पेट मिचीमिची हँसाउने उदय शेट्टी ।तर नाना पाटेकरको परिचय फिल्मको पर्दामा मात्र सीमित थिएन । उनी खेतीपातीमा रमाउने, गाउँले जीवन मन पराउने र महाराष्ट्रका किसानको समस्यामा सक्रिय रूपमा जोडिएका अभिनेता समेत थिए । सन् २०१५ मा उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए, जसले किसान, पानी संरक्षण र ग्रामीण विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

रंगमञ्चबाट सुरु भएको यात्रा
पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो । सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जन्जिरामा जन्मिएका उनी सानैदेखि रंगमञ्चसँग जोडिएका थिए । पछि फिल्ममा प्रवेश गरे पनि रंगमञ्चको अभिनय शैलीले उनमा गहिरो छाप छोड्यो । जसको प्रभाव उनको फिल्मी करियरभरि नै रहिरह्यो । खासमा उनी मराठी रंगमञ्चबाट अघि बढ्दै फरक धारका भारतीय चलचित्र हुदैँ मुलधारको बलिउडमा स्थापित भएका थिए ।सन् १९७८ को ‘गमन’बाट उनको हिन्दी फिल्म यात्रा सुरु भएको थियो । त्यसपछि ‘सलाम बम्बे !’ हुँदै सन् १९८९ को ‘परिन्दा’ले उनलाई राष्ट्रिय स्तरमा स्थापित गर्‍यो । 

‘परिन्दा’मा उनको अभिनयका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए । त्यसपछि ‘प्रहार’, ‘अंगार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘राजनीति’जस्ता फिल्ममा उनले प्रभावशाली भूमिका निर्वाह गरे ।उनको अभिनयको विशेषता के थियो भने उनी पात्रलाई केवल अभिनय गर्दैनथे, त्यसको मनोविज्ञान बुझेर पर्दामा उतार्थे  त्यसैले उनका प्राय पात्रहरू परम्परागत नायक वा खलनायकको दायरामा सिमित देखिदैँनन् ।

‘परिन्दा’ले बनाएको अलग पहिचान
‘परिन्दा’ पाटेकरको करियरको निर्णायक मोडमध्ये एक थियो । उनले यसमा अँध्यारो अपराधिक संसारसँग जोडिएको पात्र निर्वाह गरे । तर उनको अभिनयमा हिंसा मात्र थिएन । पात्रको असुरक्षा, क्रोध र मानसिक जटिलता पनि त्यसमा झल्कन्थ्यो ।यही क्षमता उनका पछिल्ला गम्भीर भूमिकामा पनि देखियो । ‘अब तक छप्पन’मा प्रहरी अधिकारीको भूमिकादेखि ‘राजनीति’मा राजनीतिक पात्रसम्म उनले आफ्नो अभिनयका फरक आयाम देखाए । पर्दामा बेजोड उपस्थिति र शक्तिशाली संवादलाई नै खासमा उनको अभिनयको प्रखर विशेषता मान्न सकिन्छ ।

तर पाटेकरको अभिनय यात्रा केवल गम्भीर भूमिकाको कथा भने होइन । उनको सबैभन्दा ठूलो विशेषता नै यही थियो कि उनी गम्भीरता र हास्यबीच सहजै समायोजन गर्न गर्न सक्थे ।‘क्रान्तिवीर’ र त्यो अविस्मरणीय संवाद
सन् १९९४ को ‘क्रान्तिवीर’ उनको अभिनय जीवनको अर्को ऐतिहासिक अध्याय हो । फिल्ममा प्रताप नारायण तिलकको भूमिकामा उनले सामाजिक अन्याय, भ्रष्टाचार र साम्प्रदायिक विभाजनविरुद्ध विद्रोह गर्ने पात्रलाई जीवन बनाएका छन् ।फिल्मको क्लाइमेक्समा उनले दिएको लामो भाषण हिन्दी सिनेमाका चर्चित दृश्यमा पर्छ । निर्देशक मेहुल कुमारका अनुसार उक्त दृश्य छायाङ्कनअघि पाटेकरलाई स्वास्थ्य समस्या भएको थियो र उनी अस्पतालसमेत भर्ना भएका थिए ।

 पछि चिकित्सकको निगरानीमा उनले त्यो दृश्य एकै दिनमा छायाङ्कन गरे । निर्देशकका अनुसार पाटेकरले संवादमा केही कुरा तत्काल थपेर अभिनयलाई अझ प्रभावकारी बनाएका थिए ।वर्षौँपछि पाटेकरले उक्त क्लाइमेक्समा बोलेका सबै शब्द आफूलाई सम्झना नभएको बताएका थिए । क्यामेरा चलेपछि पात्रमा प्रवेश गर्ने उनको अभिनय शैलीको यो एउटा असाधारण उदाहरण थियो । ‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाए । ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि समेत राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेपछि उनी तीनपटक राष्ट्रिय फिल्म पुरस्कार जित्ने कलाकार बने । सन् २०१३ मा उनलाई भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो ।

‘वेलकम’ले देखाएको अर्को नाना
पाटेकरको अर्को उल्लेखनीय पक्ष उनको हास्य अभिनय थियो । ‘वेलकम’मा उदय शेट्टीको भूमिका त्यसको उत्कृष्ट उदाहरण हो । कागजमा हेर्दा उदय शेट्टी एउटा डरलाग्दो ग्याङ्स्टर थियो । तर पाटेकरले उसको रिस, अहंकार र धम्की दिने शैलीलाई हास्यमा बदलिदिए । उनको अनुहारको भाव, संवाद बोल्ने तरिका र गम्भीर बन्न खोज्दाखोज्दै हास्यास्पद देखिने चरित्रले ‘उदय शेट्टी’लाई फिल्मको सबैभन्दा सम्झनलायक पात्रमध्ये एक बनायो ।पाटेकर आफैँले पनि ‘वेलकम’मा काम गर्न रमाइलो लागेको बताएका थिए । सन् २०२३ को फिल्मफेयर अन्तर्वार्तामा उनले आफू अहिले सामाजिक विषय बोकेका फिल्म वा कमेडी गर्न रुचाउने बताएका थिए । उनले आफूलाई ‘स्विच अन र स्विच अफ’ हुने अभिनेता बताएका थिए । अथात् उनी क्यामेरासामु पात्रमा पूर्ण रूपमा डुब्ने गर्थे तर छायाङ्कन सकिएपछि पात्रलाई त्यहीँ छाड्ने गर्थे ।

त्यसो त ‘नटसम्राट’मा उनले यसभन्दा बिल्कुलै फरक संसार प्रस्तुत गरे । रंगमञ्चको जीवन बिताएको वृद्ध कलाकारको एक्लोपन, अहंकार, स्मृति र पीडालाई उनले पर्दामा उतारे । यही कारण उनी एउटै किसिमको भूमिकामा सीमित अभिनेता बनेनन् ।
स्टारडमभन्दा बाहिरको नाना
पाटेकरको निजी जीवन उनको फिल्मी छविभन्दा फरक थियो । उनी फिल्मी ग्ल्यामर र स्टारडमको निरन्तर भागदौडभन्दा गाउँको सरल जीवनलाई प्राथमिकता दिन्थे । सन् २०२३ मा फिल्मफेयरसँग कुरा गर्दै उनले आफ्नो १२–१४ एकडको फार्महाउसमा समय बिताउने गरेको बताएका थिए । कोभिड महामारीका बेला उनी त्यहीँ बसेका थिए । त्यहाँ पाँचवटा कुकुर, १२ वटा गाई र दुईवटा गोरु रहेको उनले बताएका थिए । आफू वरपरका किसान र आवश्यकतामा परेका मानिसलाई सकेको सहयोग गरेको पनि उनले बताएका थिए ।

खेती उनको लागि देखावटी शौख थिएन । पुराना अन्तर्वार्ताहरूमा उनले धान, गहुँ, प्याज र लसुनजस्ता बाली खेती गर्ने रुचि रहेको बताएका थिए । खेती र खाना पकाउनु उनका व्यक्तिगत सोखमध्ये थिए । उनको जीवनशैलीमा एउटा कुरा स्पष्ट देखिन्थ्यो । स्टार हुनु र स्टारको जीवनशैली जिउनु उनका लागि एउटै कुरा थिएन । फिल्मफेयरसँगको कुराकानीमा उनले महँगो जीवनशैलीभन्दा आफ्नो आवश्यकता सीमित राखेर बाँच्न रुचाउने बताएका थिए ।त्यसो त नाना पाटेकर भारतीय प्रादेशिक सेनासँग पनि जोडिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सन् १९९० मा उनलाई प्रादेशिक सेनाको मानार्थ कप्तान नियुक्त गरिएको थियो । सन् १९९९ को कारगिल युद्धका क्रममा उनले मराठा लाइट इन्फ्यान्ट्री रेजिमेन्टमा मानार्थ मेजरका रूपमा सेवा दिएका थिए ।

किसानका लागि ‘नाम फाउन्डेसन’
किसानसँगको उनको सम्बन्ध व्यक्तिगत रुचिभन्दा धेरै पर पुग्यो । महाराष्ट्रमा खडेरी, पानीको अभाव र किसान आत्महत्याको समस्या बढिरहेका बेला पाटेकर र मकरन्द अनासपुरेले सन् २०१५ मा ‘नाम फाउन्डेसन’ सुरु गरे ।फाउन्डेसनको आधिकारिक विवरणअनुसार यसको सुरुवात महाराष्ट्रमा फैलिएको खडेरी, किसानको बढ्दो संकट र ग्रामीण क्षेत्रमा पानीको समस्याप्रतिको चिन्ताबाट भएको थियो । संस्थाले किसानलाई कृषि शिक्षा दिने, पानीको सदुपयोगबारे काम गर्ने, जलाशय र नहर पुनर्जीवित गर्ने तथा ग्रामीण विकासमा सहयोग गर्ने उद्देश्य राखेको छ ।

पाटेकरका लागि यो केवल सेलिब्रिटीको सामाजिक अभियान थिएन । उनले किसान आत्महत्यापछि परिवारले भोगेको पीडासम्बन्धी टेलिभिजन रिपोर्ट देखेपछि आफू गहिरो रूपमा प्रभावित भएको बताएका थिए । आफूसँग पैसा भएर मात्र के अर्थ भयो भन्ने प्रश्नले उनलाई सामाजिक काममा सक्रिय हुन प्रेरित गरेको थियो ।यही कारण पाटेकरको किसानसँगको सम्बन्ध उनको सार्वजनिक व्यक्तित्वको स्थायी हिस्सा बन्यो । उनको अभिनयमा विद्रोह थियो भने सामाजिक काममा समानुभूति र व्यावहारिक सग्लग्नता थियो ।

नानाका बारेमा कसले के भने ?
५ दशकभन्दा लामो समयको अभिनय यात्रापछि पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार, अक्टोबर ८ मा निधन भएको छ । उनी गोवास्थित डोना पाउलाको निवासमा अचेत अवस्थामा भेटिएका थिए । चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको थियो र चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत बचाउने प्रयास गर्दा पनि उनको ज्यान बचाउन सकिएन । अभिनेता अक्षय कुमारले नानासँग ‘वेलकम’ र पछिल्लो समय ‘हाउसफुल ५’ मा काम गरेको स्मरण गर्दै उनलाई ‘एकदमै अद्वितीय’ अभिनेता भनेका छन् । उनले नानाको आवाज, अभिनयको बेजोडता र हरेक भूमिकामा देखिने इमानदारीताको प्रशंसा गरेका छन् । नील नितिन मुकेशको उनको अभिनयलाई लिएर उस्तै धारणा छ । नानालाई सम्झदै रितेश देशमुखले उनको नानाको निधनको खबर आफूलाई ‘ट्रकले ठक्कर दिएजस्तो’ लागेको बताएका छन् ।

त्यसोत प्रधानमन्त्री नरेन्द्र मोदीले नानाको बेजोड अभिनय, मौलिकता र छुट्टै उपस्थितिको प्रशंसा गरेका छन् । उनले नानाले हरेक भूमिकामा असाधारण विविधता र सिर्जनशीलता प्रस्तुत गरेको तथा उनले बनाएका पात्रहरू पुस्तौँसम्म सम्झिइने बताएका छन् । 

भारतीय क्रिकेटर शिखर धवनले भारतीय सिनेमाले ‘साँच्चिकै विशेष प्रतिभा’ गुमाएको बताएका छन् । उनले नानाको कामले आगामी पुस्तालाई पनि प्रेरणा दिइरहने बताएका छन् । भारतीय राजनीतिज्ञ शरद पवारले नानालाई ‘असाधारण, संवेदनशील र प्रभावशाली कलाकार’का रूपमा सम्झिएका छन् । उनले अभिनयसँगै नानाको सामाजिक प्रतिबद्धता र किसानका लागि गरेको कामको पनि प्रशंसा गरेका छन् । त्यसैगरि, नानाको अभिनय बुझ्नका लागि गीतकार तथा लेखक जावेद अख्तरको पुरानो मूल्यांकन निकै रोचक छ । अख्तरले नानाभित्र एउटा ‘प्रवचनकर्ता’ लुकेको बताएका थिए ।

उनले अमिताभ बच्चनको रिस र नानाको रिसबीच फरक देखाउँदै अमिताभको रिस व्यक्तिगत चोटबाट आउने भए पनि नानाको रिस समाज र संसारप्रतिको आक्रोशबाट आउने बताएका थिए । खासमा नानाका फिल्मका पात्र किन यति जबरजस्त र प्रभावशाली देखिन्थे भन्ने एउटा दृष्टान्त यहि अक्तरको भनाई दिन्छ ।
‘कलाकार’भन्दा ठूलो एउटा जीवन
नाना पाटेकरको निधनसँगै भारतीय सिनेमाले एउटा विशिष्ट कलाकार गुमाएको छ । तर उनको विरासतलाई केवल पुरस्कार र फिल्मको सूचीमा सीमित गर्न सकिँदैन ।

बरु उनले निर्वा गरेका फरक पात्र र परिवेशले नै उनको अभिनय स्वरुपलाई निर्धारण गर्छ । ‘परिन्दा’को उनको अँध्यारो संसार, ‘क्रान्तिवीर’को विद्रोह, ‘अब तक छप्पन’को कठोर प्रहरी, ‘नटसम्राट’को वृद्ध रंगकर्मी र ‘वेलकम’को उदय शेट्टी आदि पाटेकरको मौलिक उपस्थितिको ज्वलन्त उदाहरण हुन् ।

यसैगरि, पर्दाभन्दा बाहिरको उनको जीवनले उनको अर्को पक्ष देखाउँछ । गाउँ, खेती, पशुपालन, किसान र सामाजिक कामसँग उनको सम्बन्धले उनलाई केवल फिल्म स्टारका रूपमा भन्दा पर लगेर मानविय सद्गुण र सदभावनामा लगेर जोड्छ । पाटेकरले एकपटक भनेका थिए, ‘हरेक दिन आफूलाई प्रमाणित गर्नुपर्छ ।’ उनले पर्दाभित्र र बाहिर दुवैतिर उत्तिकै प्रमाणित गरेका छन् । सायद नाना पाटेकरको सबैभन्दा ठूलो परिचय यही हो कि उनी पर्दामा उनी असाधारण र बेजोड कलाकार हुन् अनि पर्दाबाहिर सामान्य जीवन रोज्ने मानिस ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij