Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनमा स्वर्णिम वाग्लेको राजनीतिक संस्कार परिवर्तनको आह्वान

रास्वपा महाधिवेशनमा स्वर्णिम वाग्लेको राजनीतिक संस्कार परिवर्तनको आह्वान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफलता सहज हुने प्रणाली विकास भएको बताएका छन्। आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँच संरक्षणलाई प्राथमिकता दिएको संस्कार हावी भएको टिप्पणी गरे।

वाग्लेले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान भएको स्पष्ट पारे। उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्ने लक्ष्यसहित पार्टी अघि बढिरहेको बताए। उनका अनुसार नागरिक र राज्यबीचको विश्वास कमजोर भएपछि परिवर्तनको चाहना विद्रोहमा रूपान्तरित भएको र त्यही लोकतान्त्रिक अभिव्यक्तिको रूपमा रास्वपा उदाएको हो।

उनले विगतका आन्दोलनहरूले लोकतन्त्र, संविधान र समावेशिताको आधार बनाए पनि संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे। निर्वाचन नियमित भए पनि उत्तरदायित्व कमजोर रहेको, संस्थाहरू बलियो नबनेको र राज्यको क्षमता विस्तार हुन नसकेको उनको भनाइ थियो। वाग्लेले अब पार्टी आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको यात्रामा रहेको उल्लेख गर्दै नयाँ पुस्ताले प्रश्न मात्र होइन, उत्तर दिन र शासन चलाउन सक्ने क्षमता देखाउनुपर्ने बताए।

रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको उल्लेख गर्दै उनले नागरिकको प्रतिभा, क्षमता र परिश्रम सफलताको आधार बन्नुपर्नेमा जोड दिए। उनले युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने, किसान र श्रमिकलाई सम्मानजनक जीवनयापनको अवसर दिने तथा उद्यमीलाई निर्भय लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट