चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा प्रधानमन्त्री, मन्त्री, सांसदसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता रहने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।
महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की स्वयं चितवनमा खटिएका छन्। महाधिवेशनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वयात्मक रूपमा तयार गरिएको सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। सुरक्षाका लागि जनपथ प्रहरीतर्फबाट मात्रै एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। आवश्यक जनशक्ति व्यवस्थापनका लागि बाहिरी जिल्लाबाट समेत प्रहरी चितवन झिकाइएको छ।
यसैबीच, महाधिवेशन स्थल आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाकिमचोक, चौविसकोठी र मालपोतचोकसम्म सवारी आवागमनमा अस्थायी रोक लगाइएको छ। ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रास्वपाको उद्घाटन सत्र भरतपुरस्थित गेष्टहाउस चौरमा हुने छ भने बन्द सत्र चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिने कार्यक्रम रहेको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij