चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण पूर्व-पश्चिम राजमार्गमा केही समय समस्या उत्पन्न भएपछि अन्ततः उक्त गेट हटाइएको छ।
स्वागत गेटको उचाइ कम भएका कारण भारतबाट चितवनको कुरिनटारस्थित बाह्रसिंगे बियर फ्याक्ट्रीतर्फ जाँदै गरेका पाँचवटा मालवाहक गाडीहरू गेटबाट छिर्न नसकी सडकमा रोकिएका थिए। ती गाडी र चालक–सहचालकलाई रत्ननगर–१० निपनी क्षेत्रमा रोकेर राखिएको थियो।
गाडीहरू महाधिवेशन अवधिभर अगाडि बढ्न नपाउने भनिएपछि चालक तथा सहचालक गरी करिब १० जना केही समय सडकमै अलपत्र परेका थिए। पर्याप्त खाने र बस्ने व्यवस्था नहुँदा उनीहरूले कठिनाइ भोग्नुपरेको थियो। पूर्व-पश्चिम राजमार्ग जस्तो व्यस्त सडकमा आवश्यक समन्वय र पूर्वतयारी बिना स्वागत गेट निर्माण गरिएको भन्दै स्थानीय तथा सरोकारवालाबाट आलोचना समेत भएको थियो।
सो विषयलाई सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ उठाएपछि सम्बन्धित निकायमाथि दबाब बढेको थियो। मिडियाको निरन्तर खबरदारी र जनआक्रोशपछि आइतबार बिहान उक्त स्वागत गेट हटाइएको छ। गेट हटाइएसँगै रोकिएका मालवाहक गाडीहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् भने अलपत्र परेका चालक तथा सहचालकहरूले राहत महसुस गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij