चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुन लागेपछि चितवनको होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय चहलपहल देखिएको छ। महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू आउने क्रम बढेसँगै भरतपुरसहित आसपासका सबै प्रमुख होटलहरू पूर्ण रूपमा बुक भएका छन्।
महाधिवेशनमा करिब ३ हजारदेखि ३ हजार ५ सयसम्म प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिहरू सहभागी हुने अनुमान गरिएको छ। उनीहरूको आगमनसँगै भरतपुर, नारायणगढ, गैंडाकोट, सौराहा, टाँडी, पटिहानी, मेघौलीलगायतका क्षेत्रमा होटल कोठा अभावको अवस्था देखिएको व्यवसायीहरूले बताएका छन्। कतिपय होटलहरूमा कार्यक्रम सुरु हुनुभन्दा धेरै दिन अगाडिदेखि नै सम्पूर्ण कोठा बुक भइसकेका छन्।
होटल व्यवसायी संघ चितवनका अनुसार अफ सिजन भए पनि महाधिवेशनले गर्दा होटल व्यवसाय पूर्ण रूपमा चलायमान बनेको छ। व्यवसायीहरूले पाहुनाको सहजताका लागि छुट सुविधा, समन्वय तथा व्यवस्थापनमा विशेष ध्यान दिएका छन्। साथै, बन्दसत्र स्थलमा सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
महाधिवेशनले होटल व्यवसाय मात्र नभई रेष्टुरेन्ट, यातायात, ट्याक्सी सेवा तथा अन्य सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढाएको छ। स्थानीय व्यवसायीहरूले दैनिक कारोबारमा उल्लेखनीय वृद्धि भएको बताएका छन्।
देशभरबाट आएका प्रतिनिधिहरूले चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, देवघाटधाम, मौलाकाली मन्दिरलगायतका पर्यटकीय स्थलहरूको भ्रमण गर्ने योजना बनाएका छन्। यसले चितवनको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
व्यवसायीहरूले रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना हुनु जिल्लाको पर्यटन, आतिथ्यता र स्थानीय अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर बनेको बताएका छन्। साथै, यसले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ बढी चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij