चितवन : चितवनमा चालु आर्थिक वर्षको हालसम्म ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । पशुमा फैलिन सक्ने संक्रामक रोगबाट बचाउन जिल्लाभर घरपालुवा पशुचौपायामा खोप अभियान सञ्चालन गरिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जिल्लामा करिब एक लाख गाईभैँसी पालिएका छन् । किसानले आफैँ पनि खोप लगाउने गरेका छन् भने पालिकाअन्तर्गतका पशु सेवा कार्यालयमार्फत समेत खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
खोरेत भाइरसका कारण फैलिने रोग हो । यस रोगबाट संक्रमित पशुमा उच्च ज्वरो आउने, जिब्रोको छाला खुइलिने, गर्भवती पशुको गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ हुने तथा दाना–पानी खान छाड्ने जस्ता लक्षण देखिने डा. न्यौपानेले जानकारी दिए । उनका अनुसार यो रोग विशेषगरी गाईभैँसी र बङ्गुरमा बढी देखिने भएकाले किसानले विशेष सतर्कता अपनाउन आवश्यक छ ।
खोप लगाइएका पशु सुरक्षित रहने भए पनि बाहिरबाट खरिद गरी ल्याइएका पशुबाट रोगको जोखिम रहने भएकाले त्यस्ता पशुलाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र बथानमा मिसाउन उनले आग्रह गरे । संक्रमण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्ने र जङ्गली जनावरबाट समेत रोग सर्न सक्ने भएकाले चरन क्षेत्रमा लैजाने पशुमा थप सावधानी अपनाउनुपर्ने उनले बताए । पशु सेवा कार्यालयले सबै पशुपालक किसानलाई फार्ममा जैविक सुरक्षा प्रणाली अपनाउन तथा वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij