नवलपुर : गैंडाकोटको पर्यटकीय गन्तव्यका रूपमा परिचित इला रिसोर्ट मौलाकाली ले सेवा विस्तार गर्दै ‘लेट नाइट डाइनिङ’लाई प्राथमिकतामा राखेको छ। नारायणघाट–गैंडाकोट तथा भरतपुर क्षेत्रका रेस्टुरेन्ट पारखी ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै रिसोर्टले मौलाकाली केवलकार अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको केबलकारका प्रमुख सुरज पौडेलले जानकारी गराउनुभयो ।
यस नयाँ व्यवस्थासँगै अब पाहुनाहरूले साँझदेखि अबेर रातिसम्म मौलाकाली डाँडाको शिखरमा पुगेर मनोरम दृश्यसँगै स्वादिष्ट परिकारको आनन्द लिन सक्ने ईलाका दुवै होटल हेर्ने महाप्रबन्धक प्रदिप न्यौपानेले जानकारी गराए। विशेषगरी शान्त वातावरण, उज्यालो शहरको दृश्य र प्राकृतिक सौन्दर्यको संगमले ‘नाइट डाइनिङ’ अनुभवलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।
रिसोर्टको ६ तले आधुनिक भवनमा सञ्चालित रेस्टुरेन्टबाट नारायणघाट, गैंडाकोट र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै आरामदायी वातावरणमा समय बिताउन सकिन्छ। परिवार, साथीभाइ तथा कपलहरूका लागि यो गन्तव्य उपयुक्त बन्ने अपेक्षा गरिएको छ।
ईला ग्रुपका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाका अनुसार सेवा समय विस्तारसँगै मौलाकालीलाई केवल धार्मिक वा पर्यटकीय स्थल मात्र नभई ‘डाइनिङ डेस्टिनेसन’का रूपमा समेत स्थापित गर्ने लक्ष्य राखिएको छ। यस पहलले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको थापाको भनाई छ ।
नयाँ वर्षको अवसरसँगै सुरु गरिएको यो योजना आन्तरिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षण सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ, जसले मौलाकाली क्षेत्रको समग्र पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij