काठमाडौं : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।
गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई विशिष्ट पद रिक्त थियो । त्यसमध्ये आज एउटा पदमा मात्रै नियुक्त गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाबमोजिम गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त दुई पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सरकारसमक्ष सिफारिस गरेका थिए।
नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०८६ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।
उनले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजनका साथै भुक्तानी प्रणाली विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकको रुपमा समेत काम गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij