Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

२०८३ सालमा सिंह र धनु राशिलाई शनिको अढैया

२०८३ सालमा सिंह र धनु राशिलाई शनिको अढैया

काठमाडौँ : वैदिक ज्योतिषमा शनिलाई क्रूर ग्रह मानिन्छ। शनिग्रहको नाम सुन्दैमा वा शनिको दशा चल्दैमा नराम्रो हुन्छ भन्ने जनमानसमा भ्रम परेको पाइन्छ। 
 
शनिदेवलाई न्यायका देवता मानिने हुनाले शनिको महादशा, साढेसाती वा अढैया चल्दैमा डराइहाल्नु पर्दैन। सौरमण्डलमा शनिको गति अन्य ग्रहको तुलनामा ढिलो छ। जसका कारण शनिलाई एक राशिबाट अर्को राशिमा जान साढे दुई वर्ष लाग्छ, यसैलाई अढैया भनिन्छ। 

ज्योतिष शास्त्रमा शनिलाई आयु, दुःख तथा प्रविधिको कारक ग्रह मानिन्छ। तुला राशिमा गोचर गर्दा शनि बलवान् हुन्छ भने मेष राशिमा शनि कमजोर मानिन्छ। मकर र कुम्भ राशि शनिका आफ्नै (स्वगृही) राशि भएकाले यहाँ शनि अत्यन्तै बलशाली हुन्छन् र त्यही अनुसार फल प्राप्त हुन्छ। २७ नक्षत्रमध्ये पुष्य, अनुराधा र उत्तरभाद्रपदा नक्षत्रको स्वामी शनिलाई मानिन्छ।
 
राज्य सञ्चालनमा शनिले न्यायालय, भौतिक सम्पत्तिमा इन्जिन वा टेक्नोलोजी र शरीरमा नशा तथा ग्यास्ट्रिकको प्रतिनिधित्व गर्दछ। देशको न्याय संरचना, सवारी साधनको इन्जिन र मानिसको स्वास्थ्यमा नशासम्बन्धी समस्यामा शनिको सूक्ष्म निगरानी रहन्छ। 
 
शनि ग्रह बलवान् हुँदा न्याय संरचना चुस्त हुने, सवारीसाधन वा प्रविधिको क्षेत्रमा फड्को मार्न सकिने र मानिसको स्वास्थ्य पनि तन्दुरुस्त हुन्छ। तर शनिदेव कमजोर भएमा नकारात्मक फल प्राप्त हुन्छ। शनिग्रहलाई जनताको कारक ग्रह पनि मानिने हुनाले कुण्डलीमा शनिले राजयोग बनाएमा वा शनि बलवान् भएमा जनताको अपार समर्थन प्राप्त भई राजनीति वा सत्ता सुख प्राप्त हुन्छ।
 
२०८३ सालमा शनिदेव मीन राशिमा रहने हुनाले निम्न राशि भएका व्यक्तिहरूलाई अढैया र साढेसाती शनिको प्रभाव रहनेछ:

१. कुम्भ राशि: वर्षभरि अन्त्य साढेसाती दशा रहनेछ।

२. मीन राशि: वर्षभरि मध्य साढेसाती दशा रहनेछ।

३. मेष राशि: वर्षभरि आद्य (सुरुवात) साढेसाती दशा रहनेछ।

४. सिंह र धनु राशि: वर्षभरि अढैया शनि दशा रहनेछ।

शनि फल:

झुटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मान-सम्मान तथा इज्जत-प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने, शरीरमा आलस्य बढ्ने, चोटपटकको भय हुने र आर्थिक स्थिति कमजोर हुने जस्ता फलहरू साढेसाती र अढैया शनि भएका व्यक्तिहरूलाई मिल्न सक्छ।

साढेसाती र अढैया शनि भए पनि यदि तपाईंको जन्मकुण्डलीमा शनि ग्रह स्वगृही, मित्रगृही, उच्च राशि, निचभङ्ग वा ३, ६, ११ औँ भावमा भएमा शुभ फल प्राप्त हुनेछ।

शनिग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि देवी पूजा, शनि मुद्रिका (औँठी) धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने र ज्योतिषीको सल्लाहअनुसार रत्नको प्रयोग गर्नुपर्दछ।

शनिस्तोत्र

नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोऽस्तुते।

नमस्ते विभ्रुरूपाय कृष्णाय च नमोऽस्तुते।।

नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च।

नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो।।

नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोऽस्तुते।

प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च।।

पीपलको प्रार्थना गर्ने मन्त्र

अश्वत्थ! यस्मिन्त्वयि वृक्षराजे नारायणस्तिष्ठति सर्वकाले।

अतः स्तुतस्त्वं सततं तरुणां धन्योऽसि चारिष्टविनाशकोऽसि।।

पीपलमा जल चढाउने मन्त्र

मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे।

अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः।।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij