Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनसान मुक्तिनाथ

सुनसान मुक्तिनाथ

काठमाडौं : हिउँदे वर्षा र हिमपातका कारण मुस्ताङस्थित मुक्तिनाथ मन्दिर सुनसान बनेको छ । हिन्दु तथा बौद्धमार्गीहरूको लागि महत्त्वपूर्ण तिर्थस्थलमध्येको मुक्तिनाथ मन्दिर हिउँले ढाकिएपछि मन्दिर परिसर सुनसान बनेको हो ।

समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर आसपास क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातकै कारण कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ । कागबेनी–मुक्तिनाथ सडक खण्डमा बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारी साधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् ।

बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो । मुक्तिनाथ जाने कागबेनी मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोटलगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडकअवरुद्ध बनेको छ ।

हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेका छन् । हिमपात अघि दैनिक ५०० भन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित ज्यादै नगण्य रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिएका छन् ।

हिमपातका कारण वारागुङ मुक्ति क्षेत्रमा पर्ने झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायतका गाउँ पूरै हिउँले सेताम्मे भएका छन् । मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा पूरै हिउँ जमेका कारण यहाँ जसोतसो दर्शन गर्न आएका भक्तजनलाई पनि स्नान गर्न र मन्दिरको दर्शन गर्न कार्यमा बाधा अवरोध पुर्याएको मन्दिर व्यवस्थापन समितिले जनाइएको छ ।

यस मन्दिरलाई हिन्दुहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा(जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन्। तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो।

मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो। यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ। शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दु धर्ममा पुजनिय मानिन्छ।

यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ। जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ। हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ सङ्ख्यामा हिन्दु धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ। यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij