काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचन प्रणालीलाई लिएर संघभित्रको बहस पेचिलो बन्दै गएको छ । विश्वभर छरिएका नेपालीहरूको साझा संस्थाको गरिमा बचाउन र विगतको विभाजनलाई सधैँका लागि अन्त्य गर्न यसपटकको महाधिवेशन कुनै पनि हालतमा काठमाडौंमा भौतिक उपस्थितिमा नै हुनुपर्ने कतिपयको भनाइ छ।
विशेष गरी विगतमा अपनाइएको ‘अनलाइन भोटिङ’ प्रणालीले संस्थालाई जोड्नुको साटो भावनात्मक रूपमा विभाजन गरेको निष्कर्षसहित अभियन्ताहरूले भौतिक उपस्थितिको पक्षमा वकालत गरेका हुन्।
एनआरएनए आईसीसीका उपाध्यक्ष तथा १२ औँ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी रोविन शेरचनले आगामी महाधिवेशनमा भौतिक उपस्थितिको विकल्प नभएको स्पष्ट पारे। मार्च १३ देखि १५सम्म काठमाडौंमा आयोजना हुने भनिएको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनले संगठनको भावी दिशा तय गर्ने भन्दै शेरचनले यो केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई विश्वभरका नेपालीहरूको एकता प्रदर्शन गर्ने उत्सव हुनुपर्नेमा जोड दिएका छन्।
शेरचनले विगतको तितो अनुभव स्मरण गराउँदै अनलाइन तथा डिजिटल मतदान प्रणाली असफल भइसकेको अभ्यास भएको दाबी गरे। "विगतमा अनलाइन भोटिङका नाममा जसरी प्रविधिको दुरुपयोगको आशंका गरियो, त्यसले मतदाताको पहिचान, प्रणालीको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गर्यो," शेरचनले भने, "यसकै कारण संघभित्र अविश्वासको खाडल बढ्यो र समानान्तर संरचनासमेत खडा भयो। अब फेरि त्यही असफल अभ्यास दोहोर्याउनु भनेको एनआरएनएको संस्थागत भविष्यमाथि खेलबाड गर्नु हो।"
उनका अनुसार भौतिक निर्वाचन प्रक्रियाले पारदर्शिता बढाउने मात्र नभई उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवादको वातावरण बनाउँछ। यसले नेपालको पर्यटन र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने उनको बुझाइ छ। उनले एकता जोगाउन सबैले त्याग गर्नुपर्नेमा समेत जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij