काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका सहिदहरुको शालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई समेत बोलाएर निर्माणाधीन संसद भवन परिसरमा सहिदका शालिक राख्ने विषयमा छलफल गरेकी हुन्।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानी मन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो।प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सहल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी थिए।
सहरी विकास सचिव सिग्देलले शालिक राख्नका लागि पहिचान गरिएका ठाउँहरु र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी छिन्।
सरकारले आन्दोलनकारी जेनजीसँगको सम्झौताका क्रममा सहिदको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणको प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij