टोकियो : जापानमा ३ जना पर्यटक सवार एउटा हेलिकप्टर बेपत्ता भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान १० : ५२ बजे आसो सहरस्थित एक चिडियाखानाबाट उडेको हेलिकोप्टर १० मिनेटको अवलोकन भ्रमणपछि फर्कन नसकेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।
जापानको माउन्ट आसो नजिकको ज्वालामुखीमा हेलिकप्टर बेपत्ता भएको जनाएको छ । बेपत्ता हेलिकप्टर खोजीका क्रममा दिउँसो करिब ४ बजे प्रहरीको अर्को हेलिकोप्टर परिचालन गरिएको छ ।
सो हेलिकप्टरले माउन्ट आसोका पाँच चुचुरामध्ये एक नाकादाके ज्वालामुखीको क्रेटरभित्र विमानजस्तो वस्तु देखिएको जनाएको छ । तर त्यो वस्तु हराइरहेको हेलिकप्टर नै हो कि होइन भन्ने पुष्टि हुन सकेको छैन । हेलिकप्टरमा ६४ वर्षीय अनुभवी पाइलट र दुई जना यात्रु सवार थिए ।
पाइलटसँग करिब ४० वर्षको उडान अनुभव रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यात्रुहरू एक पुरुष र एक महिला थिए । दुवै ताइवानका नागरिक भएको बताइएको छ । यूएसमा बनेको रोबिन्सन आर ४४ मोडेलको उक्त हेलिकप्टर त्यस दिनको तेस्रो अवलोकन उडानका लागि गएको थियो । यसअघि भएका दुई उडानमा कुनै समस्या नदेखिएको हेलिकप्टर सञ्चालक टाकुमी इन्टरप्राइजले जनाएको छ ।
मंगलबार नाकादाके क्षेत्रमा बादल लागेकोले साँझ खोजी कार्य रोकिएको थियो, जुन बुधबार बिहान पुनः सुरु गरिएको छ । घटनापछि टाकुमी इन्टरप्राइजले आफ्ना सबै हेलिकप्टर उडान अस्थायी रूपमा रोकेको छ ।
कुमामोतो प्रान्तमा पर्ने माउन्ट आसोको ज्वालामुखी दृश्य अवलोकनका लागि गरिनेहेलिकप्टरयात्रा पर्यटकका लागि प्रमुख आकर्षण मानिन्छ । माउन्ट आसोमा अन्तिम पटक सन् २०२१ को अक्टोबरमा ज्वालामुखी विस्फोट भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij