काठमाडौं : निर्वाचन आयोगबाट आधिकारिकता पाउन नसकेको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने भएको छ।
शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा पक्षले आज अदालतको ढोका ढकढक्याउन लागेको हो। नेता प्रकाशशरण महतले आयोगले विधि, विधान र नियमविपरीत निर्णय गरेको भन्दै अदालत जान लागेको बताए।
वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतले रिट तयार गरिसकेका छन्। देउवा पक्षले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसमेत गर्ने तयारी गरेको छ।
भ्रातृ संगठनहरुमा आबद्ध केही युवाले आज दिउँसो काठमाडौंको माइतीघर मण्डलामा निर्वाचन आयोगविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका छन्। उनीहरुले गएराति आयोग परिसरमा नाराजुलुस गरेका थिए।
यद्यपि, यी कार्यक्रममा शेखर कोइराला पक्ष भने सहभागी नहुने भएको छ। सानेपामा बोलाइएको हिजोको बैठकमा सहभागी भएका शेखर कोइराला पक्षीय नेताहरुले आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिइसकेको अवस्थामा अब मिलेर अघि बढ्नुपर्ने भन्दै यसपछि देउवा पक्षले बोलाउने बैठकमा सहभागी नहुने बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij