काठमाडौं : प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले असहमति जनाएका हुन् । ‘टिकट वितरणमा असहमति छ, नोट अफ डिसेन्ट लेख्छु भन्नुभएको छ,’ बैठक स्रोतले भन्यो ।
स्रोतका अनुसार भट्टराईले नोट अफ डिसेन्ट लेख्नुपर्ने तीन वटा आधार बैठकमा राखेका छन् । ‘टिकट वितरणमा मापदण्ड मिलेन । मापण्डद नबनाउँदा अन्याय हुन्छ,’ भट्टराईले भनेका छन्, ‘आन्तरिक एकतालाई नजर अन्दाज गरियो, यसले राम्रो गर्दैन ।’
बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको भट्टराईले तर्क गरेका छन् ।बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणमा योगेशलाई टिकट दिन बाँकी राखिएको छ । भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा अध्यक्ष ओलीले पछि टुंग्याउने भनेर भट्टले भनेका छन् ।
ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका छन् । ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij