Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेस प्रदेशको नामकरण दिवसमा शुभकामना दिँदै सभामुख यादवले के भने ?

मधेस प्रदेशको नामकरण दिवसमा शुभकामना दिँदै सभामुख यादवले के भने ?

जनकपुरधाम : मधेस प्रदेश सभाका सभामुख राम अशिष यादवले मधेस प्रदेशको ऐतिहासिक नामकरण तथा जनकपुरधामलाई स्थायी राजधानी कायम गरिएको दिवसको अवसरमा शनिबार सम्पूर्ण प्रदेशवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा सभामुख यादवले नागरिक हक, अधिकार, पहिचान, र सामाजिक न्यायका लागि भएका विभिन्न जनआन्दोलन, मधेस जनविद्रोह, र जनयुद्धमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

 

उनले शहिदहरूको बलिदान, संघर्ष, र त्यागकै फलस्वरूप मधेस प्रदेशको पहिचान संस्थागत भएको उल्लेख गर्दै उनीहरूले देखाएको बाटोमा हिँड्नु आजको साझा दायित्व भएको बताएका छन्। "सामाजिक न्याय, समानता, स्वाभिमान र समावेशितामा आधारित लोकतान्त्रिक समाज निर्माण आज हाम्रो साझा दायित्व बनेको छ," सन्देशमा भनिएको छ।

 

सभामुख यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरूप मधेस प्रदेशले सुशासन, शान्ति, र समृद्धिको मार्गमा अघि बढ्दै शहिदहरूको सपनालाई साकार पार्ने विश्वास व्यक्त गरेका छन्। यस दिवसले मधेसको पहिचान, स्वाभिमान, र समावेशी लोकतन्त्रको यात्रालाई स्मरण गराउने बताउँदै उनले प्रदेशले सामाजिक न्याय र समृद्ध सुशासनको दिशामा निरन्तर प्रगति गर्ने अपेक्षा राखेका छन् ।

मधेसको बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै आपसी सद्भाव र एकतामार्फत प्रदेशको दिगो विकासका लागि सबै एकजुट हुन समेत उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij