काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा होमिने घोषणा गरेका छन् ।निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै फेसबुक लाइभमार्फत आफ्नो धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली बदलेर निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामा जाने बताए । ’पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,’ शर्माले भने, ’महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहना बमोजिम हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।’
Laxmi sunrise bank
आयोगको निर्णयले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि देशैभरका कांग्रेस कार्यकर्ताले दीपावली मनाउन सुरु गरेको उल्लेख गर्दै शर्माले यसलाई ’नवीन कांग्रेस’ निर्माणको उत्सवका रूपमा लिन आग्रह गरे । काँकडभिट्टा, कञ्चनपुर र चितवन लगायतका स्थानमा कार्यकर्ताले दीपावली मनाइरहेको खबर आएको भन्दै उनले भने, ’विधिको जित भएको यो घडीमा उज्यालो मनोविज्ञानका साथ दीपावली मनाउनुस्, तर यसलाई कसैको हार वा जीतका रूपमा नभई पार्टीको बृहत्तर एकताको रूपमा बुझ्नुपर्छ ।’
शर्माले कांग्रेसको अबको एजेण्डा ’स्थिर सरकार’ हुने बताए । विगत ३४ वर्षमा ३० वटा सरकार बनेर देश अस्थिरताको चक्रमा फसेको भन्दै उनले अब ५ वर्षसम्म टिक्ने प्रधानमन्त्री र सुशासनका लागि कांग्रेसले ’फुल टर्म प्राइममिनिस्टर एक्ट’ को अवधारणा ल्याएको जानकारी दिए । उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने एक्जिट पोलिसीलाई कडाइका साथ लागू गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी पूर्वको गठबन्धन नगर्ने र एक्लै प्रतिस्पर्धा गर्ने शर्माको भनाइ थियो । उनले पार्टीलाई जिताउन आफू स्वयं यस पटक उम्मेदवार नबन्ने र देशभरको चुनावी अभियानको कमाण्ड सम्हाल्ने घोषणा गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij