Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रमेश खरेलले भने - देउवा लोकतन्त्रका कलङ्क, अबको कांग्रेस गगन–विश्वको हो

रमेश खरेलले भने - देउवा लोकतन्त्रका कलङ्क, अबको कांग्रेस गगन–विश्वको हो

काठमाडौँ :  पूर्व डीआईजी रमेश खरेलले नेपाली कांग्रेसको देउवा पक्षले देखाएको व्यवहारको निन्दा गरेका छन्। पार्टीको विशेष महाधिवेशन चलिरहँदा सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय  गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको विषयमा खरेलले आक्रोश पोखेका हुन्।


सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै खरेलले देउवा समूहको कदमलाई घोर भत्सर्नायोग्य भनेका छन्। उनले लोकतन्त्रको मूलमन्त्र नै बहुमत भएको भन्दै पार्टीका बहुमत सदस्यहरूको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई सम्मान गर्न नसक्ने देउवा समूह लोकतन्त्रवादी हुन नसक्ने जिकिर गरे। उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका देउवाले अहिले जेनजीआन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएको आरोप लगाए।

खरेलले ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको दाबी गरेका छन्। यसको सम्पूर्ण जिम्मेवारी शेरबहादुर देउवा र उनको समूहले लिनुपर्ने उनको भनाइ छ। उनले कांग्रेसमा नेतृत्व परिवर्तनको माग कार्यकर्ताको मात्र नभएर सिङ्गो देशको भएको बताए। जेनजी आन्दोलनपछि पुराना पार्टीहरूमाथिको विश्वास गुम्दै गएको अवस्थामा यो विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ उचाइ दिने उनको विश्लेषण छ। देउवाले महाधिवेशनमा सहभागी भएर शानका साथ बिदा लिने अवसर गुमाएको खरेलले टिप्पणी गरे।


विशेष महाधिवेशन सुरु हुनासाथ वैधानिकता समाप्त भएको केन्द्रीय कार्यसमितिका नेताहरूले गगन र विश्वलाई कारबाही गर्ने निर्णय गर्नु निर्लज्जताको पराकाष्ठा भएको खरेलको ठहर छ। उनले देउवा पक्षलाई 'डिमेन्सियाका सिकार' को संज्ञा दिँदै यति सामान्य जानकारी नहुनेले यत्रो ठुलो दल कसरी हाँकिरहेका थिए भन्दै प्रश्न गरे। खरेलले देउवा र उनलाई यो दुष्कर्ममा साथ दिने सबै जना लोकतन्त्रका कलङ्क भएको बताए। उनले प्रश्न गरे, "यत्रो वर्ष राजनीति गरेका बुढाहरूले समाजको गति किन बुझ्न सकेनन्? के गरी बुढा भाका यिनीहरू?"


खरेलले गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिँदै अबको कांग्रेस उनीहरूकै भएको घोषणा गरे। उनले सबल कांग्रेस भनेको सबल लोकतन्त्र भएको र यसको फाइदा अन्ततः देशलाई नै हुने भन्दै विशेष महाधिवेशनमा सहभागी सबैलाई बधाई दिएका छन्।

कांग्रेस कसैको पेवा होइन, कांग्रेस सबैको हो ।
शेर बहादुर समूहले आज देखाएको बहादुरी पना घोर भत्सर्ना लायक छ । लोकतन्त्रको मूलमन्त्र नै बहुमत हो । पार्टीका बहुमत सदस्यहरुको आह्वानमा भईरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई सम्मान गर्न नसक्ने शेर बहादुर समूह कतिको लोकतन्त्रवादी छ भन्ने विषय अब जगजाहेर भइसक्यो । तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका शेरबहादुर देउवाले अहिले जेनजी आन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएका छन् ।
८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको हो । यसको सम्पूर्ण जिम्मेवारी शेर बहादुर एण्ड कम्पनीले लिनैपर्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र होइन, देशकै हो । लोकतन्त्रमा विश्वास राख्ने हरेक देशवासीले कांग्रेसमा नेतृत्व परिवर्तन भएको हेर्न चाहन्छन् । जेन–जी आन्दोलन पछि पुराना पार्टीहरु माथिको विश्वास हराइरहेका बेलामा, यो विशेष महाधिवेशन कांग्रेसलाई नयाँ माइलेज दिनका लागि पनि उपयुक्त थियो । यो विशेष महाधिवेशनमा सहभागि भएर शेरबहादुरले शानका साथ बिदाइ लिनसक्थे । तर, उनले त्यस्तो चाहेनन्, र, नतिजा आज जे भयो, देखियो । अझ, निर्लज्जताको पराकाष्ठा त गगन–विश्व लगायतका नेताहरुलाई कारवाहीको निर्णय गर्दा देखियो । विशेष महाधिवेशन सुरु हुनासाथ वैधानिकता समाप्त भएको केन्द्रिय कार्यसमितिका नेताहरुले के हैसियतमा कारवाहीको निर्णय गरे? यती सामान्य जानकारी नहुने 'डिमेन्सीयाका शिकार'हरुले यत्रो ठूलो दल कसरी हाँकीरा थिए । शेर बहादुर मात्र होइन, उनलाई यो दुष्कर्ममा साथ दिने सबैजना लोकतन्त्रका कलंक हुन् । यत्रो वर्ष राजनीति गरेका बुढाहरुले समाजको गति किन बुझन् सकेनन्?, के गरि बुढा भाका इना'रु? जनताले फैसला गरुन् ।
गगन र विश्वलाई शुभकामना । अबको कांग्रेस गगन–विश्वको हो । कांग्रेसलाई सुदृढ र सबल बनाउने जिम्मेवारी लिएर विशेष महाधिवेशनमा सहभागि भएका सबैलाई बधाई तथा शुभकामना । सबल कांग्रेस भनेको सबल लोकतन्त्र हो । यसको फाइदा अन्ततः देशलाई नै हुने हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij