काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्र जित्ने बताएका छन्। सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा यस्तो बताएका हुन्।
ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रूपमा जनतासँग भेट हुने गरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका छन्। उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिने नीति पार्टीले लिने बताए।
संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहोर्यालउने वाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। त्यस अवसरमा उनले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी गरे।
प्रचण्डले भने, ‘ठूला सभा गरेर भोट धेरै आउने जमाना पुराना भइसक्यो अब। अब जनताको घरघरमा गएर उनीहरूलाई हाम्रा एजेण्डा यी हुन्, हामी पुराना गल्तीबाट सिकेर दोहोर्याउँदैनौँ। यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ।’
संयोजक दाहालले काठमाडौँको समस्या बुझेका सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा आएकाले पनि काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्क गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij