दाङ: दाङको देउखुरी क्षेत्रमा यतिबेला सखरखण्ड भित्र्याउने चटारो छ। राप्ती नदीको उकास जमिन र पाँगो–बलौटे माटोमा लगाइएको सखरखण्ड किसानले पुसको चिसो सिरेटोको परवाह नगरी खन्दै बजार पठाइरहेका छन्।
कोही किसान फरुवा चलाउँदै सखरखण्ड खन्दै छन् भने कोही टिपेर थुपार्दै र बोरामा भरेर बजार पठाउने तयारीमा छन्। घरपरिवारको जनशक्तिले नपुग्दा कतिपय किसानले अतिरिक्त कामदारसमेत लगाएका छन्।
राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादवले समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले सखरखण्ड खन्ने काम तीव्र बनाइएको बताए। उनले तीन बिघा जमिनमा सखरखण्ड खेती गरेको र एक बिघाबाट करिब ३५ क्विन्टल बिक्री गरिसकेको जानकारी दिए। बाँकी दुई बिघाको सखरखण्ड खन्ने काम भइरहेको र व्यापारी बारीमै आएर सिधै खरिद गर्ने भएकाले बिक्रीमा समस्या नभएको उनको भनाइ छ।
यादवले हालसम्म करिब डेढ लाख रुपैयाँ बराबरको सखरखण्ड बिक्री गरिसकेको र कुल उत्पादन एक सय क्विन्टलभन्दा बढी भए रु तीन लाख ५० हजारसम्म आम्दानी हुने अनुमान गरेका छन्। उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो रु ४० देखि ४५ र रातो सखरखण्ड रु ४५ देखि ४९ सम्ममा बिक्री भइरहेको छ।
अन्य बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय सखरखण्ड खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको राजपुर–३ कै अर्का किसान धर्मप्रसाद यादवले बताए।
माघे सङ्क्रान्तिमा सखरखण्ड खाने परम्पराका कारण यस समयमा बजार माग बढ्ने गरेको किसान सीता यादव बताउँछिन्। राम्रो मूल्य र सुनिश्चित बजारका कारण यस सिजनमा आम्दानी पनि मनग्य हुने उनको भनाइ छ।
राजपुर गाउँपालिका–३ र ४ नं वडामा २०० भन्दा बढी किसानले एक–दुई कट्ठादेखि तीन–चार बिघासम्म सखरखण्ड खेती गरेका छन्। एक किसानले न्यूनतम रु २०–२५ हजारदेखि अधिकतम रु ५–६ लाखसम्म यही समयमा सखरखण्ड बेचेर आम्दानी गर्ने गरेका छन् भने गाउँमा कुल कारोबार रु दुई करोडभन्दा बढी हुने अनुमान गरिएको छ।
गत वर्ष प्रतिकिलो रु ५०–५५ मा बिक्री भएको सखरखण्ड यस वर्ष रु ४०–४५ मा बिक्री भइरहेको भए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ। भदौमा रोपिने सखरखण्ड पुसको दोस्रो साताबाट खन्न सुरु गरिन्छ। देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुरदेखि बुटवल, कोहलपुर र सुर्खेतसम्म पुग्ने गरेको किसानले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij