Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

टोटी नालामा रु १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उनले जानकारी दिए । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू-क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गरे ।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। भूक्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उनको भनाइ छ । स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij