Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ : नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।

हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरलास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ।

नेपाल–चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो। हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी सिकारी र तस्करीलगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीको कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाइ छ ।

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो।

उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन । यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ । त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।

हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ। चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट