Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

नेपाली कलाकार र ब्यान्डको साँझ प्रस्तुति, सेल्फी जोन र किड्स जोन आकर्षण

नेपाली कलाकार र ब्यान्डको साँझ प्रस्तुति, सेल्फी जोन र किड्स जोन आकर्षण

विराटनगर : मोरङ उद्योग व्यापार संघले पुस ९ देखि १९ गतेसम्म विराटनगरको शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय छेउमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। संघले आर्थिक गतिविधि सुदृढीकरण र जेनजी आन्दोलनपछि घटेको व्यवसायिक गतिशीलता पुनःसक्रिय गर्न एक्स्पो आयोजना गर्न लागेको जानकारी सोमबार पत्रकार सम्मेलनमा दिइएको छ।

एक्स्पोमा कृषि, पर्यटन, ऊर्जा र स्वदेशी उत्पादन प्रवर्धनलाई मुख्य प्राथमिकता दिइने छ। साथै, नेपाल व्यापार रणनीतिअनुसार पहिचान गरिएका वस्तुहरूको बजार विस्तारमा मेला उपयोगी हुने आयोजकको दावी छ।

करिब २३० स्टल रहने यस एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अत्याधुनिक अक्टानम सिस्टम प्रयोग गरिनेछ। नेपालका साना, मझौला र ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका वस्तुहरू पनि प्रदर्शित हुनेछन्।

परम्परागत मेलाको ढाँचा तोड्दै ज्ञान, प्रविधि र उद्यमशीलतालाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ। स्टार्टअप, सूचना प्रविधि, कर–लेखा प्रणाली र महिला उद्यमशीलता प्रवर्धनका विशेष स्टल राखिनेछन्। साथै, साइबर सुरक्षा, डिजिटल व्यवसाय विस्तार र पर्यटन प्रवर्धन रणनीतिमा आधारित गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन्।

दर्शक आकर्षणका लागि राष्ट्रिय कलाकार तथा ब्यान्डहरूले हरेक साँझ प्रस्तुति दिनेछन्। कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य प्रमुख प्रस्तोताहरू हुनेछन्। मेलामा सेल्फी जोन, किड्स जोन, फिस टनेल र जलपरी टनेल जस्ता विशेष आकर्षण रहनेछन्। साथै, नेपाली कला–संस्कृतिलाई प्रर्दशन गर्ने आधुनिक प्रवेशद्वार निर्माण गरिनेछ।

‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ मुख्य प्रायोजक रहेको एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ सफल बनाउन सहयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। मोरङ तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट करिब दुई लाख दर्शक एक्स्पोमा सहभागी हुने अनुमान गरिएको छ।

मोरङ उद्योग व्यापार संघले यसअघि पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij